Sajhamanch Archive

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्दा २६०० माथि नेप्से, निषेधाज्ञाले कारोबार घट्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ठूला सहरमा बिहीबारदेखि लागु भएको निषेधाज्ञाका बीच पनि साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार बजार परिसूचक नेप्से २५.८३ अंकले वृद्धि हुँदा २६११.११ अंकमा बन्द भएको छ ।

साताको पहिलो दुई कारोबार दिनमा नै १४२ अंकले घटेको नेप्सेमा मंगलबार ९२ अंकले बाउन्स ब्याक भयो । तर, बुधबार पुनः १३ अंकले गिरावाट भएको नेप्सेमा आज बिहीबार १ प्रतिशतले वृद्धि हुँदा २६०० अंकको विन्दु पार भएर बन्द भएको छ ।

यही आइतबार नेप्से २६०० अंकको विन्दुबाट झरेको थियो । आज प्रिओपनमा दोहोरो अंकले बढेर २६०१.२१ अंकमा खुलेको नेप्से २६१२.२९ अंकको उच्च विन्दु र २५८२.३५ अंकको तल्लो विन्दुमा झरेको थियो । उतार–चढाव देखिए पनि अन्त्यमा नेप्से बढेर खुलेको हो ।

कोभिड–१९ को नयाँ भेरियन्टले समग्र क्षेत्र प्रभावित भएको र काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागुु भए पनि सेयर बजार भने सकारात्मक भएको छ ।

निषेधाज्ञासँगै बजारमा लगानकर्ता निस्क्रिय बन्दै जाँदा कारोबार रकम भने घट्दै गएको छ । आज नेप्सेमा ८६ लाख ५८ हजार ८६० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८१ करोड ७८ लाख ६३ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा होटेल तथा पर्यटन उपसूचकमा ०.५३ प्रतिशतको गिरावट भए पनि अन्य सबै उपसूचकमा भने हरियाली छाएको छ । हाइडोपावर उपसूूचक सर्वाधिक २.९ प्रतिशत, अन्य उपसूचक २.८ प्रतिशत र व्यापार उपसूचक २.६६ प्रतिशतले वृद्धि भयो । यस्तै, उत्पादन उपसूचक १.८७ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४५ प्रतिशतले बढेको छ ।

आज कारोबार रकममा भने एनसीसी बैंकले लिड गरेको छ । बैंकको सर्वाधिक ३० करोड ९६ लाख ९५ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको १८ करोड ७२ लाख २२ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा महिला लघुवित्त, सिंगटी हाइड्रो र विशालबजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने सान्जेन जलविद्युत् कम्पनीको सेयर मूल्य ८.५६ प्रतिशतले बढ्यो ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको सेयर मूल्य २.८२ प्रतिशतले घट्दा नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य २.३ प्रतिशतले घट्यो । आज नेप्सेमा कारोबार भएका १३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको घट्दा १२ कम्पनीको स्थिर रह्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *