Sajhamanch Archive

एनएमसी कोपसपका सामान आजदेखि सानो हाटले घरघरमै पुर्याउँदै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

झापा । नेपालकै अग्रणी मध्येको एक संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको एनएमसी कोपसपको प्रवद्र्धनका लागि रचनात्मक अभ्यास थालिएको छ ।

एनएमसी कोपसप र बिर्तामोडस्थित सानो हाटबीचको सहकार्यमा झापामा अनलाइन सपिङ्गको प्रारम्भ गरिएको हो । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल र बिर्तामोडमा सञ्चालन प्रारम्भ भएको सानो हाट अनलाइन प्रालि बीच सहकार्य गर्ने गरी करार भएको एनएमसी सहकारी पसलका प्रशासनिक प्रमुख नबिन भण्डारीले बताएका हुन् ।

आज वैशाख २६ गते आइतबारदेखि प्रारम्भ गरिएको अनलाइन सपिङ्ग प्रारम्भमा बिर्तामोडको ५ किलोमिटर क्षेत्रभित्र लागू हुने सम्झौता गरिएको छ । सानो हाट नामक एप्लीकेशन गुगल प्ले स्टोरबाट डाउनलोड गरी एनएमसी कोपसपबाट सामानहरु अर्डर गर्न सकिने जनाइएको छ ।

उपभोक्ताले सानो हाट नामक एप्लीकेशनमा सामान अर्डर गरेको एक घण्टाभित्र घरमै डेलिभरी गरिने सानोहाटका सिइओ त्रिलोक कर्णले दावी गरेका छन् । आम नागरिकलाई छिटो, सस्तो र सहज खरीदका लागि प्रभावकारी हुने अपेक्षाका साथ ल्याइएको योजना निकट भविष्यमा झापा जिल्लाभर सञ्चालन गरिने बताइएको छ ।

एनएमसी कोपसपका झापा जिल्लाभर रहेका सम्पूर्ण पसलहरुबाट उक्त सुविधा प्रदान गरिनेछ । हाल झापा जिल्लाका शनिश्चरे, राजगढ, बनियानी, चारआली, चन्द्रगढी, दूधे, खुदुनाबारी, गौरीगञ्ज र बुधबारेमा एनएमसी कोपसपहरु सञ्चालनमा रहेका छन् । गौरादह, बिर्तामोड र काँकरभिट्टामा कोपसप सञ्चालनको तयारी अन्तिम चरणमा रहेको प्रशासनिक प्रमुख भण्डारीले जनाएका छन् ।

कोभिड १९ को प्रभावलाई मध्यनजर गरी सुरक्षित खरीद बिक्री गरिने र अनावश्यक भिडभाडबाट ग्राहकहरुलाई बचाउनका लागि यो उत्तम उपाय हुने दुवै संस्थाको विश्वास छ । यसले आम नेपाली नागरिकको जीवन शैलीलाई स्वस्थ र सुविधाजनक बनाउने अपेक्षा पनि गरिएको छ ।

नियमित रुपमा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामानहरु एनएमसी कोपसपबाट खरीद गर्न सकिनेछ । हाल कोरोना महामारी नियन्त्रणका लागि एनएमसी कोपसप बिहान ७ बजेदेखि साढे ९ सम्ममात्र खुल्ला रहे पनि अनलाइन सपिङ्गको सुविधा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनमा रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *