युवा, विद्यार्थी र खेलकुद संघको सराहनीय कार्यः सुरक्षाकर्मी, साधुसन्त र बटुकहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान
Published:
by .दमक । नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले कोरोनाको संक्रमणका बाबजुद अग्रभागमा खटिएका सुरक्षाकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।
महासंघको देशव्यापी अभियान अन्तर्गत झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म यस किसिमको अभियानलाई निरन्तरता दिइने जनाइएको छ । सोमबार महासंघले राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको व्यवस्थापनमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय शिवगञ्जसँगै पूर्वको धार्मिक पर्यटकीयस्थल सताक्षीधाम परिसरमा करिब २ हजार मास्क र २० थान सेनिटाइजर वितरण गरेको हो ।
महासंघका केन्द्रीय सदस्य सुरज रिङगालुङ राई, भिम लिवाङ, अनेरास्ववियूका केन्द्रीय सदस्य सिकिन पास्वान, युवा संघ शिवसताक्षी नगर कमिटी अध्यक्ष भिम बोहोरा लगायत युवा विद्यमर्थी र खेलकुद महासंघका नेता कार्यकर्ताहरु सम्मिलित टोलीले ती स्थानमा पुगेर सामग्री वितरण गरेका हुन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेमा आयोजित एउटा संक्षिप्त कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष धनबहादुर थेवे, खेलकुद महासंघका केन्द्रीय सदस्य रिङगालुङ, प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले आफ्ना धारणा राखेका थिए । कोरोना संक्रमण विरुद्ध लड्दै जिल्ला प्रशासनद्वारा घोषणा गरिएको निषेधाज्ञा कार्यान्वयनमा युवा तथा खेलाडी वर्गबाट प्राप्त सहयोगले उर्जा मिलेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई थियो ।
यसैबीच, मास्क र सेनिटाइजर वितरण अभियानलाई निरन्तरता दिइने नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य राजकुमार थापाले जनाएका छन् । सुरक्षाकर्मीहरुका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री वितरणलाई अभियानकै रुपमा अघि बढाइने उनको भनाई छ । उनले सुरक्षाकर्मी नै सुरक्षित नभई आम नागरिकलाई सुरक्षित गर्न नसक्ने भएकाले पहिलो प्राथमिकतामा राखेर यस महामारीमा अग्रभागमा खटिएका सुरक्षाकर्मीलाई सहयोग प्रदान गरिएको बताए ।
युवा संघ नेपाल झापाका संयोजक शम्भु भण्डारीले पनि जिल्लाका मुख्य मुख्य ठाउँहरु र विशेष हाइवेमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाका लागि त्यस किसिमको सामग्री वितरण गरिने दोहोर्याएका छन् ।
Comments