कर्णालीका तीन नवनियुक्त मन्त्रीलाई भोलि शपथ गराइने
Published:
by .सुर्खेत । कर्णाली प्रदेशका तीनजना नवनियुक्त मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागि तय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले बताए।
मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्ट, आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा सीताकुमारी नेपालीलाई नियुक्त भएका छन् ।
विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) र शर्मा रुकुम पश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यस्तै नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् ।
यसअघि माओवादी संसदीय दलको प्रमुख सचेतक रहेकी नेपालीलाई भौतिक पूर्वाधार मन्त्रालय टुक्राएर जलस्रोतमन्त्री बनाइएको छ ।
यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएकी विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका नरेश भण्डारीले आजै मन्त्रिपरिषदको वैठकमा मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् ।
भण्डारी सरकार गठनको सुरुमै सोही मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए । केसीले भने यसअघिको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय छोडेर आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।
मुख्यमन्त्रीले यसअघि वैशाख ४ गते पनि तीनजना मन्त्री नियुक्त गरेका थिए । आफ्नो पक्षमा फ्लोर क्रस गर्ने माधव नेपाल समूहका नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कुर्मराज शाहीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र अम्मर थापालाई भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त गरेका थिए ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अहिले पनि खाली छ । यो मन्त्रालय अहिले मुख्यमन्त्री शाहीले आफू मातहत नै राखेका छन् ।
वैशाख ३ गतेको संसद् वैठकबाट सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसलाई पनि सरकारमा समावेश गराउनुपरेमा यो मन्त्रालय दिन सकिनेगरी मुख्यमन्त्री आफैंले राखेको स्रोतले जनाएको छ ।
Comments