प्रदेश सांसद बुढाथोकीलाई मातृशोक, इलामका शंकर र पत्रकार कार्कीको पनि देहावसान
Published:
by .झापा । प्रदेश १ प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ ।
गएराति सामाजिक सञ्जाल फेसबुकामा उनले आमाको देहावसानबारे लेखेका छन्, ‘हाम्री माताले विश्राम लिनुभयो । २०७८/२/१ गते साँझ १०ः१५ बजे । बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा श्रद्धेय आमाको निधन भयो । आमाप्रति श्रद्धाञ्जली ।’
कोरोना संक्रमणकै कारण नेकपा एमाले इलामका नेता नवराज शंकरको पनि शनिबार राति निधन भएको छ। एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। ३५ वर्षीय शंकरको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
शंंकर नेकपा एमालेको कार्यालय सचिवसँगै विभिन्न संघसंस्थामा सक्रिय थिए। इलाम नगरपालिका–९ का बासिन्दा उनी बाल संगठन इलामका सभापति समेत हुन्।
यसरी नै झापाको गौरादह न पा वडा नं ४ डोरामारीका शान्तिराम कार्कीको पनि हिजो साँझ काठमाडौंमा देहावसान भएको छ । काठमाडौंमा उपचारक्रममा रहेका प्रेस चौतारीका नेता कार्कीको कोभिड–१९ उपचारकै क्रममा निधन भएको जनाइएको छ । उनी गौरादह वडा नं ४ का वडाध्यक्ष मणिन्द्र कार्कीका भतिज हुन् । च्यानल नेपाल टेलिभिजनदेखि नै दशकौँको पत्रकारिता यात्रा गरेका हाल प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कार्की जनताटाइम्स डटकमका सम्पादक थिए ।
Comments