खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै भद्रपुर
Published:
by .भद्रपुर । जिल्लाका आठवटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भैसक्दा सदरमुकामसमेत रहेको भद्रपुरमा अझै ४६३ वटा घरमा चर्पी बन्न बाँकी रहेका छन् । तर सबैभन्दा बढी चर्पी बन्न बाँकी रहेको स्थानीय तह भद्रपुर पनि अब क्रमशः खुल्ला दिसामुक्त अभियानमा अक्रामक बन्दै गएको आभाष मिलेको छ ।
मंगलबार बसेको नगरपालिकास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकले नगरपालिकालाई यही असोज ५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी वडाहरुलाई सो अवधि अघि नै खुल्ला दिसामुक्त घोषणा गर्न नगरप्रमुख जीवनकुमार श्रेष्ठले निर्देशन दिए ।
“जिल्ला खुल्ला दिसामुक्त घोषणामा समृद्ध र ऐतिहासिक नगर भद्रपुर बाधक बन्दैन”, बैठकमा नगर प्रमुख श्रेष्ठले भने, “नगरपालिका र जिल्लालाई खुल्ला दिसामुक्त गर्नका लागि जस्तो कदम चाल्न पनि नगरपालिका तयार छ ।”
तोकिएको समयमा खुल्ला दिसामुक्त घोषणा गर्न नसक्ने वडाहरुलाई नगरपालिको तर्फबाट प्रदान गरिने रकम रोक्का गर्ने निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
तोकिएको अवधिभित्रै चर्पी नबनाउने सामाजिक एवम् राजनीतिक अगुवा, सार्वजनिक पदमा रहेका
व्यक्तिहरुलाई कालो सूचीमा राखी त्यस्ता पदमा रहन नदिनेसमेत बैठकले निर्णय गरेको छ ।
टोल विकास संस्थामार्फत खुल्ला दिसामुक्त अभियानलाई निस्कर्षमा पुर्याउने रणनीति लिएको नगरपालिकाले खुल्ला दिसामुक्त अभियानको नेतृत्व नगर्ने टोल विकास संस्थाहरुलाई पुरस्कारस्वरुप उपलब्ध गराउने २५ हजार रुपैयाँ र सञ्चालन खर्चसमेत उपलब्ध नगराउने निर्णय गरेको छ ।
यसैबीच, भद्रपुरका १० मध्ये पाँच वडा खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । बाँकी वडाहरुमा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि कर्मचारीहरुलाई जिम्मेवारी दिइएको छ ।
खुल्ला दिसामुक्त घोषणा हुन बाँकी वडाहरुमध्ये वडा नं. ३, ४ र ५ मा सबैभन्दा बढी चर्पी निर्माण हुन बाँकी छन् । सबै वडाअध्यक्षहरुले नगरपालिका खुल्ला दिसामुक्त घोषणामा वडाहरु वाधक नबन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Comments