Sajhamanch Archive

‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ बारे प्रशिक्षण

Published: in लोकप्रिय, शिक्षा, समाज by .

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण भर्चुअल रुपमा गरिएको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा साउथ एशिया चेकका सम्पादक दीपक अधिकारीले सहजीकरण गरेका हुन् ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा झापासहित प्रदेश १ का विभिन्न जिल्लाबाट ९७ जना पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले अहिले महामारीको समयमा ‘फ्रन्टलाइनर’को रुपमा रहेका पत्रकारले आफू सुरक्षित भएर नागरिकलाई सुरक्षित राख्न सही सूचना दिनुपर्नेमा जोड दिए ।

गलत सूचनाले समाजमा ठूलो समस्या सिर्जना गर्ने भन्दै प्रमुख अतिथि पोखरेलले महामारीको समयमा अझ संवेदनशील र तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न सबै पत्रकारहरुलाई आग्रह गरे । ‘सामाजिक उत्तरदायित्वको सिद्धान्तमा रहेर पत्रकारिता गर्न सबै पत्रकारमा आग्रह गर्दछु’ पोखरेलले भने ‘अहिलेको समयमा सूचनाको संकट आउन नदिनु र तथ्यफरक समाचार सम्प्रेषण गर्नु सबै पत्रकारको दायित्व हो ।’

सहजकर्ता अधिकारीले पत्रकारले तथ्य र पारदर्शितालाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले कसैले बोलेको कुरालाई आधार बनाएर होइन तथ्यगत रुपमा उक्त कुरा कतिको सही छ भनेर परीक्षण गरेर मात्र सम्प्रेषण गर्नुपर्ने बताए । तथ्य जाँच नगरी हतारमा समाचार सम्प्रेषण गर्दा समाजमा ठूलो क्षति पुग्ने भन्दै उनले तथ्य जाँचको अभ्यासलाई अनिवार्य गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । अझ महामारीको समयमा गलत र भ्रामक समाचारले व्यक्तिको मानसिकता र समाजमा नकारात्मक असर पर्नेतर्फ सबै पत्रकार सचेत हुनुपर्नेमा उनको जोड छ ।

महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा सहसचिव अर्जुन राजवंशीले धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *