कमलका युवा कृषिक्रन्ति तर्फ, उत्पादनले बजार पाएन
Published:
by .कमल । झापाको कमल गाउँपालिका साविकका तोपगाछी र लखनपुर गाउँ विकास समिति मिलेर बनेको हो । कूल ९७ दशमलव ४४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको सो गाउँ पालिकामा ७ वडा रहेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँ पालिकाको जनसंख्या ४४ हजार ३६५ रहेको छ । जसमध्ये पुरूष २० हजार २ सय ९६ र महिला २४ हजार ६९ जना रहेका छन् । यति ठूलो क्षेत्रफल र जनसंख्या भएको सो गाउँपालिकाका जनताको मुख्य पेशा भनेको कृषि र पशुपालन नै हो ।
अनि ठूलो जनसंख्या कृषि तथा पशुपालनको क्षेत्रमा आवद्ध भए पनि गाउँपालिकामा उल्लेखनीय प्रगति हुन सकेको थिएन । तर पछिल्लो समय जनप्रतिनिधिले स्थानीय सरकार सम्हालेपछि भने कृषि तथा पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइयो र कषि व्यवसायले धेरै फड्को मारिसकेको छ ।
गाउँपालिकाको विकासको निम्ति कृषिको विकास हुन आवश्यक छ । यसका लागि कृषि र पशुपालनको क्षेत्रमा धेरै कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । ‘जस अन्तरगत गाई, कुखुरा, बाख्रा, माछा, च्याउ तथा बेमौसमी तरकारी उत्पादन तर्फ व्यवसायिक कृषकलाई घुम्तिकोष मार्फत ५० हजारदेखि दुई लाख रुपैयासम्म प्रदान गरेका छौं’ अध्यक्ष काफ्लेको भनाई छ ।
त्यसैगरी अध्यक्ष पकेट कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी उत्पादनतर्फ समेत कृषकलाई सहयोग गरेको उनको भनाई छ । सोही कारण पछिल्लो समय कृषि पेशातर्फ धेरै युवाको आकर्षण बढ्न थालेको अध्यक्ष काफ्ले दावी गर्छिन् ।
नेपाल कृषि प्रधान देश भएको र देशलाई विकास गर्नु छ भने कृषि क्रान्ति गर्न आवश्यक छ । रेमिटान्सले मात्र देश चल्दैन, कृषिमा अवसरहरु प्रशस्तै छन् । तर बिडम्वना सो क्षेत्रमा जे जति लागेका छन् तीमध्ये अधिकांश अशिक्षित र गरिब किसानमात्र छन् । जसका कारण कृषि पेशामा सोचेजस्तो विकास हुन नसकेको वडा नम्वर ३ का कृषक बिनोदकुमार कडेलको बुझाई छ ।
वडा नम्वर ६ मा जिमी कृषि फर्म सञ्चालन गर्ने विकास जिमीले ७ लाख रुपैयाँको लगानीमा बंगुर फर्म र माछा पालन गरिरहेका छन् । सो फर्ममा कुखुरा पालनका लागि खोर निर्माण भइरहेको छ । त्यसैगरी वडा नम्वर ६ का योगेन्द्र नेपाल पनि वैदेशिक रोजगारीबाट फर्किएर ३ वर्षदेखि बाख्रापलन व्यवसायमा रमाउँदै छन् ।
गाउँपालिकले अध्यक्ष पकेट कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषि पेशामा लागेका कृषकको आकर्षण बढेको हो । कार्यक्रमको नियमअनुसार कम्तिमा पाँच कठ्ठा जमिनमा तरकारी लगाउनु पर्ने र जैविक विषादीमात्र प्रयोग गर्नुपर्ने हुन्छ ।
जस अन्तर्गत कृषकले मौषमी तथा वेमौषमी तरकारी उत्पादन गरी राम्रो आम्दानी लिइरहेका अध्यक्ष पकेट कृषि कार्यक्रमका संयोजक दामोदार गुरागाईं बताउँछन् । गाउँपालिकामा पहिलोपटक ड्रमसिडर प्रविधि (विउ नराखी ड्रमबाट सिधै धान रोप्ने विधि) बाट वडा नम्वर ६ र ७ मा धान रोपिएको छ । यो नयाँ प्रविधिबाट रोपिएको धानबाट मनग्य आम्दानी हुने कृषकले अपेक्षा गरेका छन् । नयाँ प्रविधिबाट धान रोप्दा उत्पादन पनि बढ्ने कारण कृषकहरु उत्साही भएको ईन्द्रेणी कृषक समूहका अध्यक्ष रमेश निरौलाको बुझाई छ ।
गाउँपालिकाले च्याउ खेतीतर्फ समेत कृषकलाई आवश्यक सहयोग गरेको जनाइएको छ । विगत १० वर्षदेखि च्याउखेती गर्दै आएका वडा नम्वर ६ का कृषक प्रेमबहादुर राई च्याउ खेतीलाई नै मुख्य व्यवसाय बनाएर सोही पेशामा रमाएको बताउँछन् ।
‘सिङ्गो गाउँपालिकालाई विषदी रहित बनाउन हाम लागिपरेको छौं’ गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोरा भन्छन्, ‘यसका लागी माटो परीक्षण ल्यावसमेत सञ्चालनमा ल्याइसकेका छौं ।’ ल्यावबाट विरुवालाई आवश्यक पर्ने १४ किसिमका खाद्यतत्व परीक्षण गर्न सकिने र सोहीअनुसार कृषकलाई आवश्यक सरसल्लाह सुझाव दिइँदै आएको उनको भनाई छ ।
अर्कोतर्फ कृषि उत्पादनका लागि अति आवश्यक परेको समयमा रसायनिक मल नपाएर कृषकले भोग्नु परेको समस्याको विकल्पमा गाउँपालिकाको अगुवाईमा जैविक मल उत्पादन गरी कृषकलाई दिने गरेकाले केही राहत हुने गरेको कृषि शाखा प्रमुख महेन्द्र बोहोराको दावी छ ।
कमल गाउँपालिकाले कृषिको विकासका निम्ति पछिल्लो समय थुप्रै राम्रा काम गरेको छ । व्यवसायिक कृषकलाई विभिन्न अनुदान र व्यवसाय प्रवर्धन कोषमार्फत सहयोग समेत गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि कृषकको उत्पादनमा समेत बृद्धि भएको पाइएको छ । तर कृषकले उत्पादन गरेको बस्तुले बजार नपाउँदा कृषक समस्यामा परेका छन् । आगामी दिनमा जनप्रतिनिधिले उत्पादनका साथै साथै बजारीकरणमा समेत ध्यान दिन आवश्यक देखिन्छ ।
Comments