सहारा नेपाल साकोसले जुम मार्फत पशुपंक्षी तथा कृषि सेवा सञ्चालन सम्बन्धी तालिम दिने
Published:
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को एग्री विजनेस यूनिटले आफ्ना सदस्यहरुलाई टेलिफोन तथा अनलाइन मार्फत पशुपालन तथा कृषि व्यवसाय सम्बन्धी परामर्ष तालिम सञ्चालन गर्ने भएको छ ।
संस्थाको एग्री विजनेस युनिटका प्राविधक मार्फत विगत ३ वर्षदेखि व्यवसायिक कृषि तथा पशुपालन गर्ने सदस्यहरुलाई घरघरमा नै पुगेर सेवा पुर्याउँदै आएको छ । हाल कोभिड १९ को महामारीमा कृषकको घर आँगनमा पुगेर प्रत्यक्ष सेवा प्रवाह गर्न असहज भइरहेको हुँदा टेलिफोन सेवामार्फत दैनिक एक सयभन्दा बढी सदस्यहरुलाई पशु स्वास्थ्य, व्यवस्थापन र अन्य जानकारी गराउँदै आइरहेको कृषि यूनिटका प्रमुख डा. कमलेश्वर भाटले बताएका छन् ।
सहारा नेपाल साकोसको कार्यक्षेत्रमध्ये झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम र उदयपुर गरी ६ वटा जिल्लामा व्यवसायिक कृषि तथा पशुपालन गर्ने सदस्यहरुलाई संस्थाले प्राविधिक सेवा पुर्याउँदै आएको छ । गतवर्ष यही सिजनमा भएको लकडाउनको समयमा व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषक सदस्यहरुलाई जुम मार्फत ४६ वटा तालिम दिइएको डा. भाटले जानकारी दिए । ती तालिमहरुबाट २८ सयभन्दा बढी सदस्यहरुलाई बाख्रा, कुखुरा, बंगुर पालन, फ्रेस हाउस सुधार, तरकारी खेती, नर्सरी विकास, व्यवसायिक योजना सम्बन्धी तालिम तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
गतवर्ष सञ्चालित तालिमहरु प्रभावकारी भएको शेयर सदस्यहरुबाट सुझाव आएकोले हालको असहज परिस्थितिमा पनि पशु तथा कृषि परामर्श सेवा प्रभावकारी रुपमा उपलब्ध गराउन आगामी जेठ १५ गतेदेखि पुनः तालिम सञ्चालन गर्न लागिएको हो । सहारा नेपाल साकोसको एग्री विजनेस यूनिटले जुम र कृषि क्रान्ति फेसबुक पेजबाट पशुपालन तथा कृषि तालिम यो वर्ष पनि पुनः सञ्चालन गर्ने डा. भाटले जानकारी दिएका छन् ।
Comments