प्रदेश १ मा जेठ २४ गते बजेट अधिवेशन आह्वान
Published:
by .विराटनगर । प्रदेश १ को आठौं तथा बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश १ सरकार अध्यादेशमार्फत ऐन संशोधन गरेर बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अवधि घटाएर ५ दिन अगावै बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८ /७९ का लागि कोरोना केन्द्रीत गरेर झण्डै ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकार गठन भएपछि एउटा पूरक र तीन वटा पूर्ण बजेट ल्याएर कार्यान्वयन गरिसकेको छ । १५ औं पञ्चवर्षीय योजना र प्रदेशको पहिलो १५ वर्षीय योजनालाई मार्गनिर्देशक मानेर कोरोना महामारीको दोस्रो र तेस्रो लहरसँग जुध्न बजेट केन्द्रीत हुने प्रदेश योजना आयोगले जनाएको छ ।
प्रदेशको दिगो अर्थतन्त्र निर्माणका लागि कृषि क्षेत्रलाई नै व्यावसायिक र आधुनिकीकरण गरेर निर्यात गर्न नसके पनि आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको आयोगका सदस्य पूर्णकुमार लोक्समले बताए ।
Comments