प्रादेशिक सञ्चार प्रतिष्ठानले सुरु गर्यो कामः क्रियाशील पत्रकारलाई फेलोसिप, कोरोना उपचारमा आर्थिक सहयोगको निर्णय
Published:
by .विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ को आज सम्पन्न दोस्रो पूर्ण बैठकले कोभिड–१९ संक्रमण भई अस्पताल बसेर उपचार गराउनु परेका पत्रकारहरुका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानका अध्यक्ष, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश १ को भूगोलमा बसेर पत्रकारिता गरिरहेका तथा कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएका पत्रकारहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
यस्तै कोरोना संक्रमण जटिल भई भेन्टिलेटरमा राखेर उपचार गराउनु परेका पत्रकारहरुका लागि ५० हजार र अस्पताल वा आइसोलेसन सेन्टरमा भर्ना भई उपचार गराएका पत्रकारका लागि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माले जानकारी दिए ।
कार्यकारी निर्देशक शर्माका अनुसार प्रदेश १ लाई आधार बनाई पत्रकारिता गर्ने पेसाकर्मीको हकमा मात्र उक्त आर्थिक सहयोग उपलब्ध गराइनेछ । यसका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले कार्यरत सञ्चार माध्यम र पद, स्थायी ठेगाना खुलाएर दिएको सिफारिस अनिवार्य हुनेछ । यस्तै जिल्ला प्रशासन कार्यालयबाट समेत सिफारिस मागिने तथा कोरोना संक्रमण भएको ल्याव रिपोर्ट समावेश गरेपछि जिल्ला शाखामार्फत् प्राप्त गरिने शर्माले प्रष्ट पारेका छन् ।
यस्तै कोरोना महामारीका कारण प्रभावित पत्रकारहरुलाई काममा हौसला पुगोस् भन्ने ध्येयले चालू आर्थिक वर्षको बजेटबाट सानो संख्यामा फेलोसीप (लेखनवृत्ति) प्रदान गर्ने योजना रहेको उनले जानकारी दिएका छन् । आगामी आर्थिक वर्षमा प्रदेश १ का सबै जिल्लाका क्रियाशील पत्रकारहरुले अवसर पाउने गरी फलोसिपका लागि योजना बनाइएको पनि उनले बताए ।
प्रादेशिक सञ्चार प्रतिष्ठानको नियमावलीमा कडा प्रकारका रोग (तोकिएका) लागेका पत्रकारहरुलाई समेत आवश्यक कागजातसहित सिफारिस गरेमा बढीमा ५० हजार रुपैयाँसम्म प्रदान गर्न सकिने निर्देशक शर्माले बताएका छन् ।
आज सम्पन्न बैठकले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रको प्रवद्र्धन, पत्रकारहरुको क्षमता अभिवृद्धि, प्रतिष्ठानको स्थायित्वका लागि गुरुयोजना निर्माण गर्ने तथा सो को कार्यान्वयनका लागि आवश्यक बजेटको तर्जुमा समेत गरेको छ ।
Comments