तीन वर्षमाथिका बालबालिकालाई खोप लगाउन चीनले दियो अनुमति
Published:
by .झापा । चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ ।
चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई लगाउन पनिअनुमति दिएको हो । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो ।
तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ । यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धको १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो खोपलाई गएको हप्तामात्र विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अनुमति दिएको थियो ।
सिनोभ्याकका सीइओ यीन एइदोङले तीन वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा दुई चरणमा गरिएको परीक्षणमा सिनोभ्याकको खोप १८ वर्षभन्दा माथिकालाई जत्तिकै प्रभावकारी देखिएको बताउनुभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका प्रभावित भएका र तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आँकलन भइरहेको बेला बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने निर्णयलाई महत्वपूर्ण मानिएको छ ।
दैनिक एक करोड ४० लाख डोज कोरोना विरुद्धको खोप लगाइरहेको चीनले केही समयमै बालबालिकालाई खोप दिन सुरु गर्ने सञ्चारमाध्यमले जनाएको छ ।
Comments