अक्सिजन प्लान्टका स्थापनाका लागि कनकाई नगर बाल सञ्जालको सहयोग
Published:
by .झापा । कनकाई नगर बाल सञ्जालले कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि २४ हजार ५ सय नगद सहयोग हस्तान्तरण गरेको छ ।
नगर बाल सञ्जालले हाल अष्ट्रेलियामा रहेका पूर्वअध्यक्ष नविन गौतम र निवर्तमान अध्यक्ष हिमांशु उप्रेतीसहितको सहयोगमा वर्तमान कार्यसमितिले संकलन गरेको रकम कनकाई नगरपालिकाको कार्यालयमै गएर नगर प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेको हो ।
सञ्जालका नगर अध्यक्ष खेमराज चापागाईँ, सहसचिव सार्थक निरौला लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण भएको बताइएको छ ।
एकतामा ठूलो शक्ति हुने भएकाले धेरैजनाको साथ सहयोगबाट जुनसुकै कार्य सम्पन्न गर्न सहज हुने भएको भन्दै बालबालिकाहरुको संस्था नगर बाल सञ्जालले थोरै भएपनि आँफूहरुले एकआपसमा रकम संकलन गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको सञ्जालका कनकाई नगर अध्यक्ष खेमराज चापागाईँले बताएका छन् ।
नगरपालिकाले चालेको यो महाअभियानमा खुल्ला हृदयले सहयोग गर्न नगर बाल सञ्जालले सहयोगी मनहरुलाई अपिल गरेको छ ।
सहयोग रकम ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले यो महामारीको समयमा बालबालिकाहरुको संस्था नगर बाल सञ्जाल परिवारबाट भएको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।
अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका नगरपालिकाका प्रमुख पोखरेलले यस महान मानवीय कार्यमा जोडिनुभएकोमा सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्दै सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेका छन् ।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई तपशिलमा उल्लेखित विवरणको खातामा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले जानकारी गराएका छन् ।
नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१
Comments