प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारलाई खोप खरिदका लागि अनुमति दिन संघीय सरकारसँग आग्रह गरेकी छन् ।
संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने आवश्यकता दर्शाउँदै उनले यदि खरिद गर्न नसक्ने हो भने प्रदेश सरकारलाई खरिदको अनुमति दिन उनको आग्रह छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले यस्तो प्रस्ताव गरेकी हुन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो सो को प्रबन्ध गर्न आग्रह गरिन् । ‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिइयोस्’ बैठकमा मन्त्री राईको प्रष्ट धारणा राखेकी छन् ।
कोरोनाको तेस्रो लहर शुरुहुने विज्ञहरुले बताइरहेकाले रोकथाम वा नियन्त्रणको आवश्यक तयारी गर्नुपर्ने उनको भनाई छ । तेस्रो लहरको सुरक्षा सचेतताको पनि पूर्वतयारी आवश्यक रहेकोमा मन्त्री राईको जोड छ । कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले दावी गरेकी छन् ।
प्रदेशका दुर्गम स्थानहरुमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनले जानकारी दिइन् । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको औंल्याइन् । प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराउँदै मन्त्री राईले भनिन्, ‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं ।’
सबै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागिपरेको भन्दै उनले भनिन्, ‘एचडियू, आईसीयू, भेन्टिलेटर, आवश्यक जनशक्तिसहितको विकसित अस्पताल निर्माण हुनेछ ।’
विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनको भनाई थियो । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।
Comments