Sajhamanch Archive

आवश्यक जनशक्तिको लेखाजोखा गरेर चिकित्सा शिक्षाको शैक्षिक नीति बनाउन ओलीको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।

चिकित्सा सेवा आयोगको सातौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फोक्सो, कलेजो, मृगौला, क्यान्सर जस्ता रोगहरूमासमेत कति जनशक्ति आवश्यक छ भन्ने कुराको चित्रण प्रष्ट रूपमा गरिनुपर्ने धारणा राखे ।

“हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो रु कति मध्यम स्तरको जनशक्ति, कति सामान्य प्राविधिक जनशक्ति यसको हिसाब हुनुपर्छ,” उनले भने ।

आवश्यकता आँकलन नगरी जनशक्ति उत्पादन गर्दा कही नपुग्ने त कही उत्पादन बढी भएर बेरोजगार हुनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

अस्पतालहरूमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै ओलीले कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमहरूतर्फ औँल्याउँदै उनले यसका कार्यक्रम आवश्यक नभए तत्काल बन्द गरिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा आयोग दुई वर्ष व्यस्त रहेपनि उपलब्धिका हिसाबले सन्तुष्ट हुने स्थिति नरहेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले कुन विश्वविद्यालयले कतिवटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामथ्र्यमा भर पर्ने बताएका थिए ।

विश्वविद्यालयले कति वटासम्म क्याम्पसको अनुगमन र परीक्षा सञ्चालन गर्न सक्छ भन्ने कुरा मुल्यांकन गरी सोही अनुसार सम्बन्धन दिन पाउने गरी कोटा तोकिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

“त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयकोभन्दा बढी हुन सक्छ । भर्खरै खुलेको विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ,” उनले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *