Sajhamanch Archive

गण्डकीको मन्त्रिपरिषद बैठक ; पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

पोखरा । गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् ।

जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ । त्यसको पूर्वसन्ध्यामा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले भने, ‘उहाँसँग मुख्यमन्त्री (कृष्णचन्द्र नेपाली पोखरेलसँग) अहिले अर्थमन्त्रालय पनि छ । बजेट नीति तथा कार्यक्रम पनि उहाँले नै वाचन गर्नुहुन्छ ।’

नेपाली कांग्रेसका पोखरेल शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनीसँगै चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राखेका छन् ।

छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उनले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने
सरकारका प्रवक्ता खड्काले बताए ।

मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए । ‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ,’ उनले भने ।

प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिए । ‘विश्वासको मत नलिइकन, सरकार स्थिर नभइकन महत्वपूर्ण काम किन गर्नुभो भनेर प्रश्न उठाएको हो । त्यो प्रश्न हामीमाथि पनि आउँछ भन्ने लागेको छ,’ उनले भने, ‘मुख्यमन्त्री र निवर्तमान मुख्यमन्त्रीबीचको छलफल भइसकेपछि त्यो अनुसार हुन्छ ।’

उनले प्रमुख प्रतिपक्षीसँग समन्वय गरेर सरकार अगाडि बढ्ने बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *