उत्कृष्टलाई सम्मान र पुरस्कार प्रदान गर्दै हाम्रो नेपाल साकोसको साधारणसभा सम्पन्न
Published:
by .बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा सहकारीमैत्री ऐन बनाएकोमा प्रशंसा गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीलाई नगद पुरस्कारसहित उत्कृष्ट नागरिक सम्मान गरिएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सचिव युवराज ढकालसहित स्थानीय सहकारी संघ–संस्थाका पदाधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको साधारणसभामा मेची सहकारी संस्था दमकका व्यवस्थापक खोम बगाले थापालाई उत्कृष्ट सहकारीकर्मीको रुपमा नगद पुरस्कारसहित सम्मान गरियो ।
साधारणसभामा वार्षिक प्रतिवेदनलाई डिजिटल विधिबाट प्रस्तुत गर्दै अध्यक्ष भवानीप्रसाद दंगालले केही नयाँ गर्न प्रयास गरेको बताए । साधारणसभामा बाल बचतकर्ताहरु प्रसिद्धि श्रेष्ठ। आइसा साहा र पूजा राजवंशी नगद पुरस्कारसहित सम्मानित भए ।
संस्थाको सम्मान तथा पुरस्कार नीतिअनुसार उत्कृष्ट बचतकर्ताहरु थिलबहादुर कार्की, कमलप्रसाद थपलिया र सावित्रादेवी राजवंशीले नगद पुरस्कारसहित सम्मानित हुने अवसर पाए । यस्तै पुष्प भण्डारी, दुर्गाप्रसाद नेपाल र राधा उप्रेतीलाई उत्कृष्ट ऋणिको सम्मान प्रदान गरियो ।
पुरस्कत र सम्मानित सबैजनालाई प्रमुख अतिथि बडाल, विशिष्ट अतिथि पोखरेल र संस्थाका अध्यक्ष दंगालले नगद पुरस्कार, सम्मानपत्र, मायाको चिनो र दोसल्ला प्रदान गरेका थिए ।
साधारणसभाको उद्घटन मन्तब्यमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष बडालले सहकारी ऐनमा उल्लेख गरिएको करको दरलाई बजेट भाषणमा सम्बोधन गर्न नसके पनि अब कार्यान्वयनमा आउने बताए । यस्तै सहकारी उैनको पूर्णताको लागि चाहिने नियमावलि पनि जारी हुन लागेको बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पोखरेलले सहकारीको तरलता व्यवस्थापन गर्न सहकारी बैंकले पूर्णतः साथ दिइरहेकाले निजी बैंकको साटो आफ्नै बैंकमा कारोबार गर्नेतर्फ सहकारी संस्थाहरुलाई ध्यानाकृष्ट गरे ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकालले सहकारी अभियानका कारण सदस्यहरुमा साक्षरता वृद्धि भएको, वित्तीय क्षमताको विकास भएको, तथा बीमा गरी सुरक्षणतर्फ अग्रसर हुन सकेको बताए । उनले हाम्रो नेपालले प्रशंशायोग्य प्रगति गरेकोमा सराहना व्यक्त गरे ।
अर्का वक्ता नेफ्स्कोनका केन्द्रीय सदस्य तथा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीले सहकारीभित्र लुकेको सामाथ्र्य बचत पूँजी रहेकाले कुनै पनि सहकारी संस्थाले यसको उचित परिचालन गर्न सक्यो भने संस्था फस्टाउने विश्वास व्यक्त गरे ।
सम्मानितहरुको तर्फबाट बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटीले आफूसहित दर्जनौंलाई आफ्नो क्षेत्रमा गरेको कामको मूल्याङ्कन गर्दै पुरस्कृत र सम्मानित गरेकोमा संस्थालाई धन्यवाद दिए ।
उनले बिर्तामोडका उपभोक्तालाई विषादिरहित सागपात उत्पादन गराएर सहकारीको पसलबाट ठूलो आकारमा कारोबार गर्ने गराउने आफ्नो ठूलो उद्देश्य रहेकाले सहकारी संघ संस्थालाई यसतर्फ अग्रसर हुन आग्रह गरे ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दंगालले संस्थाले जिल्लाका पाँचवटा सेवा केन्द्रमार्फत चार हजार ५१० जना सदस्यहरुलाई सेवा प्रवाह गर्दा चार करोड १७ लाख ६ हजार रुपैयाँ शेयर पूँजी संकलन गरेको जनाए ।
जिल्लाको उत्कृष्ट १० सहकारी संस्थाको सूचिमा आफ्नो संस्थालाई उभ्याउन सफल भएको भन्दै अध्यक्ष दंगालले विभिन्न कोषहरुमा दुई करोड १७ लाख ८१ हजार रुपैयाँभन्दा बढी जगेडा गरेर सानामसिना अप्ठ्याहरुलाई स्वयम् किनारा लगाउन सक्ने हैसियत बनाएको पनि जनाए ।
साधारणसभामा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनका अनुसार संस्थासँग १७ करोड ९२ लाख रुपैयाँभन्दा बढी निक्षेप मौज्दात रहेको छ भने २२ करोड ८३ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरिएको छ ।
हाम्रो नेपाल साकोसले दीर्घकालीन योजना बनाएर संस्थालाई हिंडाइरहेको बताउँदै अध्यक्ष दंगालले भने ‘दोस्रो पञ्चवर्षीय योजनाअनुरुप संस्था विकासको चरणमा पुगेकाले आगामी पाँचवर्ष यसैमा आधारित रहेर काम गरिने’ उद्घोष गरे । उनका अनुसार सहकारीको संस्थागत विकासका पाँच आधारस्तम्भहरुलाई पालना गर्ने संस्थाको लक्ष्य छ ।
प्रतिवेदनमा वितेका ६ वर्षको शेयर पूँजी, सदस्य संख्या, निक्षेप मौज्दात, कर्जा लगानीको अवस्था, कोष हिसाब र सञ्चालन मुनाफाको अवस्थाका बारेमा बारचार्ट बनाएर गरिएको प्रस्तुतिले बुझ्न सरल बनाएको अध्यक्ष दंगालको दावी छ ।
संस्थाले सामाजिक कार्यका क्षेत्रमा जन्मदेखि मृत्युसम्मका पाँच विविध अवस्थालाई चित्रण गरी सहयोग पुर्र्याउँदै आएको हाम्रो नेपाल साकोसले सहकारी संस्था शेयर सदस्यको अभिभावक पनि हो भन्ने दृष्टान्तलाई थप मजबुत बनाउँदै लगेको छ ।
साधारणसभाको उद्घाटन समारोहमा आमन्त्रित पाहुनाहरुलाई उपाध्यक्ष पृथ्वी ओलीले शाब्दिक स्वागत गरेका थिए भने समारोहको सञ्चालन संस्थाका सचिव विपी लामिछानेले गरेका थिए ।
Comments