Sajhamanch Archive

नेप्से तीन हजार अङ्कको कीर्तिमान विन्दुमा, आज पनि १९ अर्ब रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्से सोमवार (आज) ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । नेपाली शेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय ५८, फाइनान्सको २५, जीवन बीमा समूहको ८१ र निर्जीवन बीमा समूहको शेयर तीन सय सात अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज पनि झन्डै १९ अर्ब रुपैयाँको कारोबार भएको छ । हिजो १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २१ कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ६२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से कीर्तिमानी विन्दुमा पुगेको दिन आज १२ वटा कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । तर समग्र बजार बढे पनि माउन्टेन हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *