Sajhamanch Archive

आन्तरिक हवाई सेवा सञ्चालन गर्न व्यवसायीको माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । सञ्चालहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई सेवा सञ्चालन गर्न माग गरेको छ ।

एक साताअगाडि कोभिड–१९ विरुद्ध सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा सरकारसँग अनुरोध गरेको तर असार ७ गतेसम्म निषेधाज्ञा बढाइएको संघले जनाएको छ । विज्ञहरूको रायसहित पर्यटन, हवाई, उद्योग, कलकारखाना तथा नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरू पनि सहभागी गराई निर्णय लिन सके सबैका लागि हितकर हुनेमा यसलाई बारम्बार उपेक्षा गरिएको संघले जनाएको छ ।

संक्रमणदर घटिरहेको बेलामा निषेधाज्ञा निरन्तर थपिएकोप्रति संघले गुनासो गरेको छ । “लकडाउनलाई मात्र प्रमुख औजारका रुपमा प्रयोग गरिएको छ । यसका नकारात्मक पाटाहरु पनि केलाउन उत्तिकै जरुरी भइसकेको छ । १०औँ लाखजनालाई रोजगारी प्रदान गरेका होटेल, पर्यटन, यातायात तथा हवाई क्षेत्रले अर्बौँको राजस्व मात्रै गुमाएका छैनन्, यसमा आबद्ध हरेकको आम्दानी तथा रोजीरोटीमा व्यापक असर परेको छ,” प्रवक्ता योगराज कडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लकडाउन/निषेधाज्ञाबीच पनि छिमेकी मुलुक तथा संसारैभरि आन्तरिक उडान बन्द नगरिएको भन्दै संघले अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको जनाएको छ । संघले संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न माग गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *