Sajhamanch Archive

सरकारको कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरुविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैटौँ बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिएका हुन् ।

विरोधीहरु आक्रमक ढंगले प्रस्तुत भएको भन्दै उनले सरकारको कामको प्रचारप्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गरे । “हरेक मन्त्रीहरुलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धिहरुको डिफेन्ड गर्न अनुरोध छ,’ उनले भने ।

उनले यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो तराई डुबानमा नपर्ने पनि बताए । नेपाल–भारत सीमा क्षेत्रमा लगाएको बाँध पहिले खुला नछोडिने गरेका कारण डुबान भएको भन्दै उनले यस वर्ष बाँध खोलिएको बताए ।

बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए । “जुन डुबान क्षेत्रहरु हो, त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यही बेला हो । सीमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ, त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको पनि स्पष्ट पारे । सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उनको भनाइ छ । उनले भने, “हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदि निकाल्ने काम रोक्ने, खानी पत्ता लगाउने, त्यो खानी उपयुक्त छ कि छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकूल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनि मात्रै खानीबाट गिट्टी, बालुवा निकाल्ने । बढी भयो भनेदेखि त हामीले बिक्री पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनाश होइन, चुरेको संरक्षण गर्न लागि पर्‍याछौँ । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लाग्या छौँ ।”

उनले अहिले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौसम्म नयाँ बाटो खन्ने तथा पहाडहरु भत्काउने काम रोक्नुपर्ने पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *