Sajhamanch Archive

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by .

विराटनगर । मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो ।

थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । त्यसअघि राप्रपा प्रजातान्त्रिकमा पनि जिल्ला सचिव थिए । सुनिल थापासँगै कांग्रेसमा गएका उनले कांग्रेसमा जिल्ला सचिवकै जिम्मेवारी पाएका थिए । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुरले चलाएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व-पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका-९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिँदा बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ः३० बजेतिर मृत्यु भएको हो ।

दुर्घटनापछि टिपरसहित त्यसका चालक फरार छन् । टिपरको नम्बर पनि खुलेको छैन । रातको समयमा तीब्र गतिमा हुइकिएको टिपरको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *