Sajhamanch Archive

प्रदेश १ को बजेटमाथि सांसदहरूको टिप्पणी

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, by .

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथिको छलफल सुरु भएको छ । प्रदेशसभाको बैठकमा सोमबारबाट बजेटमाथिको छलफल सुरु भएको हो । बजेटमाथिको छलफलमा सांसदहरूले सरकारले ल्याएको बजेट कार्यान्वयनमुखी भन्दा पनि औपचारिक मात्र रहेको टिप्पणी गरेका छन् ।

एमालेका सांसद राजेन्द्र कुमार राईले पटकपटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन राईले संसद्मै ‘सरेन्डर’ गरेर बोलेकाले अर्थतन्त्रको घोडचढी रित्तो फर्किसकेको भन्दै कटाक्ष गरे । “अघिल्लो वर्षको बजेटको विनियोजनको विषयमा मुख्यमन्त्रीको सवाल–जवाफ भयो । मिलेको बेला बनाएको बजेटमा यस्तो दोहोरी भयो । छोडेर जानेलाई प्रश्न हुँदैन रहनेलाई प्रश्न हुन्छ । अर्थमन्त्रीलाई मात्र दोष दिएर मुख्यमन्त्रीले बजेट विनियोजनको जिम्मेवारीबाट भाग्न मिल्छ होला र ?,” उनले प्रश्न गर्दै भने ।

बजेटले कार्यान्वयन पक्षमा जोड नदिएको उनको दाबी छ । विकास खर्चभन्दा चालु खर्च बढ्दै गएकोप्रति असन्तुष्टी जनाउँदै उनले सरकारले वित्तीय अनुशासनमा बस्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।

“रातो किताबमा एउटा योजना छ अर्बौ बजेट अर्कै योजनामा लगाइएको छ । सरकारले स्वामित्व लिनुपर्‍यो, वित्तीय अनुशासनमा बस्ने प्रतिबद्धता जनाउनु पर्छ । बजेटको प्रवृत्ति दस औँलाले दस उपियाँ मार्न खोजिएको जस्तो देखिन्छ । दुःख गरेर बजेट ल्याएको छ । फजुल खर्च गरेको छ । पुँजीगत कम खर्च र साधारण खर्च बढी छ । विकास जम्मा १० अर्ब छुट्याइएको र फजुल खर्च अरू धेरै छन् । निर्वाचन क्षेत्र विकासको पैसा काट्ने काम भएको छ,” उनले भने ।

एमाले सांसद लक्षुमन तिवारीले आम्दानीको स्रोत बलियो नभएको टिप्पणी गरे । “राजस्वको अनुमानको अधारमा बजेट आएको छ । आन्तरिक राजश्वको भरपर्दो दायरा छैन । जस्ताको तस्तै छ स्रोत बढेको छैन । प्रदेश सरकारको मुटु भनेकै प्रदेश सञ्चित कोष हो तर यही कमजोर छ ।”

स्रोतहरू पहिचान गरेर ल्याउन नसक्दा कमजोर धरातलबाटै बजेट आएको देखिएको उनको भनाइ छ । सांसद तिवारीले स्वास्थ्य क्षेत्र अपेक्षा गरिएजस्तो बजेट नआएको गुनासो गरे । “अनुदान हरेक वर्ष घट्दो क्रममा आएको छ,” उनले भने, “रु। ३० करोड ९० लाख औषधि खरिदमा बजेट छुट्याएकोमा यो आगामी वर्ष ७ करोड ७१ लख मात्र खरिद गर्ने भनिएको । स्वास्थ्य क्षेत्रमा भनेजस्तो बजेट गएन ।”

उनले बजेटमा फजुल खर्चलाई जोड दिएकोप्रति असन्तुष्टि जनाए । कर्मचारीहरू केन्द्रित भएर बनाएको बजेट अन्य सेवामा अतिरिक्त २८ करोड राखिएको बताउँदै उनले विविध कार्यक्रममा धार्मिक सांस्कृतिक संस्थाका पूजापाठमा समेत ३२ करोड राखिएको भन्दै टिप्पणी गरे । “६१ करोड विनाशीर्षकका खर्च गर्ने गरी राखिएको छ । फजुल खर्चमा राखिएको छ । मध्यकालिन खर्च संरचनामा हेर्ने हो भने ३२ अर्बको बजेट आएपनि सार्वजनिक खरिदमा १० अर्ब र सडक पुलमा ५ अर्बमात्र देखिन्छ,” उनले भने ।

नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोले आर्थिक अज्ञानताको उपजको स्वरूपमा बजेट आएको टिप्पणी गरे । उनले पशुपतिनाथ र ठोरीको रामले कोरोना घटाइदिने जसरी प्रदेश सरकारले महामारी नियन्त्रण र स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको बताए ।

“आर्थिक पुनरुत्थानाका लागि केही कार्यक्रम नै छैन । कसरी ६ प्रतिशत आर्थिक वृद्धि प्राप्त हुन्छ रु एक अर्ब ६० करोड जम्मा आफ्नो स्रोतबाट कार्यक्रम छुट्याएको छ स्वास्थ्यलाई । गेस्टहाउस जस्तो स्वास्थ्यमा बनाइने हो र ?असाध्यै न्यून बजेट छ,” उनले भने ।

कोरोना नियन्त्रणका लागि ठोस कार्यक्रम नल्याइएको भन्दै उनले खोपका लागि संघीय सरकारमा भर परेको आरोप लगाए । “गरिबलाई कोरोना लागे मर भनेर छाडिदिने रु कोभिड नियन्त्रणमा भगवान भरोसा छ,” उनले भने, “स्वास्थ्यलाई बजेटले प्राथमिकतामा राखेको छैन ।”

मध्यमकालिन खर्च संरचनामा हरेक आयोजनामा कुन आयोजनालाई कति बजेट छुट्याउने भनेर व्यवस्था गरिएको तर बजेटमा भने खुद्रा कार्यक्रम राखिएको उनको टिप्पणी छ । टुक्रे कार्यक्रम धेरै भएको र चालु तथा क्रमागत कार्यक्रममा पर्याप्त बजेट नै नभएकाले प्रतिफल नदिने उनले बताए । ठूला र वहुवर्षीय योजनामा बजेट नभएकाले रोजगारी सिर्जना तथा सहुलियत राहतको सरकारले कल्पनासमेत नगरेको उनको भनाइ छ ।

कांग्रेस सांसद शेखरचन्द्र थापाले अहिलेसम्म प्रदेश सरकारले ल्याएका कुनै पनि बजेट जोडदार रूपमा कार्यान्वयनमा जान नसकेको टिप्पणी गरे । “हरेक वर्षको बजेटको कार्यान्वयनको अवस्था हेर्दै जाने हो भने प्रदेश सरकारका बजेट फेलियर देखिएका छन् । कमजोर कार्यान्वयन छ,” उनले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *