कमलका शिक्षक कर्मचारीले सुविधा बढाउन गाउँपालिकालाई बुझाए १८ बुँदे माग
Published:
by .कमल । नेपाल शिक्षक महासंघ कमल गाउँ समितिले विभिन्न माग राखी कमल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । गाउँपालिकामा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूको पेसागत हक–हित संरक्षण तथा कोभिड १९ बाट सिर्जित विषम परिस्थितिमा विद्यालयको पठनपाठन प्रक्रिया सञ्चालनसँग सम्बन्धित विभिन्न १८ बुँदै माग राखी ज्ञापनपत्र बुझाइएको हो ।
कमल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई प्रविधि सम्बन्धी तालिम र प्रविधि सामग्री (ल्यापटप) उपलब्ध गराइनुपर्ने, सबै तहका शिक्षक तथा कर्मचारीहरूलाई महिनैपिच्छे तलब खुवाउने व्यवस्था गरिनुपर्ने शिक्ष्माकहरुको माग छ । यस्तै, कोभिडको दोस्रो डोज खोपको व्यवस्था गरिनुपर्ने, विद्यालयलाई उपलब्ध हुने मसलन्द रकम वृद्धि गरिनुपर्ने, विद्यालयहरूमा तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराइनुका साथै कम्प्युटरहरू मरम्मतको लागि दक्ष प्राविधिक उपलब्ध गराइनुपर्ने, प्रधानाध्यापक तथा शिक्षकलाई शैक्षिक संस्थाहरूको अवलोकन भ्रमण गराइनुपर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपाल सरकारले बाल शिक्षक तथा विद्यालय कर्मचारीहरूको लागि तोकेको मासिक तलबमा महँगी भत्ता वापत थप दुई हजार रुपैयाँ उपलब्ध गराइनुपर्ने, विद्यालयका लेखापालहरूलाई खरिदार सरह तलब उपलब्ध गराइनुपर्ने, हरेक विद्यालयको लागि अतिरिक्त कार्यक्रम सञ्चालनार्थ बजेट विनियोजन गरिनुपर्ने, कोभिड १९ को संक्रमण रोक्न हरेक विद्यालयमा मास्क, सेनिटाइजर, हात धुने साबुन, थर्मल गन लगायतका सामग्रीहरू सहित स्वास्थ्यकर्मी उपलब्ध गराइनुपर्ने ज्ञापन–पत्रमा जनाइएको छ ।
गाउँपालिकाबाट उपलब्ध गराइएका शिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरूलाई स्केल बमोजिमको तहगत मासिक तलब तथा दशैँखर्च उपलब्ध गराइनुपर्ने, अनुगमन समिति गठन गरी विद्यालयहरूको नियमित अनुगमन गराइनुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई दिवा खाजा उपलब्ध गराउन गाउँपालिकाको बजेट मार्फत कार्यक्रम ल्याइनुपर्ने, शिक्षक कर्मचारीहरूको कार्य दक्षताको उचित मूल्याङ्कन गरी सम्मान तथा पुरस्कार उपलब्ध गराइनुपर्ने लगायतका मागसहितको ज्ञापन–पत्र बुझाइएको छ ।
नेपाल शिक्षक महासंघ कमल गाउँ समितिका अध्यक्ष हिमप्रसाद दाहालले गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलेलाई सो ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गाउँ समितिका अध्यक्ष मधुसुदन अधिकारी, नेपाल शिक्षक संघ गाउँ समितिका अध्यक्ष हेमकुमार श्रेष्ठ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गाउँ समितिका अध्यक्ष यामनाथ दाहाल र कर्मचारी युनियन गाउँ समितिका प्रतिनिधि महेन्द्रकुमार अधिकारी लगायत विभिन्न संघ–संगठनका शिक्षकहरुको टोली गाउँपालिका पुगेर ज्ञापनपत्र बुझाएको हो ।
Comments