Sajhamanch Archive

सेयर बजारमा दोहोरो अंकको गिरावट, १४७ कम्पनीको सेयर मूल्य घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से २१६.९६ अंकले घटेर २८४३ अंकमा बन्द भएको छ ।

गएको जेठ ३१ गते ३०२५.८३ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से यही सोमबारसम्म लगातार पाँच कारोबार दिनमा २८३४ अंकसम्म झरेको थियो ।

तर, मंगलबार नेप्सेमा ७९ अंकको ‘बाउन्स ब्याक’ भए पनि बुधबार र आज बिहीबार नेप्से लगातार ओरालो लाग्दा २८४३ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । जेठ ३० गते १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको बजारमा गत साताबाट नेप्सेसँगै कारोबार रकम पनि क्रमशः घट्दै गएको छ ।

हिजो बुधबार ८ अर्बमाथिको कारोबार भएको बजारमा आज कारोबार रकम ७ अर्बमा सीमित भएको छ । आज नेप्सेमा १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा होटेल तथा पर्यटन र हाइड्रोपवारबाहेक सबै उपसूचक घटेका छन् । हाइड्रोपावर उपसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक १.१७ प्रतिशतले बढेको छ ।

यता, विकास बैंक उपसूचक १.६४ प्रतिशतले ओरालो लाग्दा वित्त कम्पनी उपसूचक १.३१ र निर्जीवन बिमा उपसूचक १.२१ प्रतिशत र अन्य उपसूचक १.३८ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ उपसूचकमा पनि ०.३९ प्रतिशतको करेक्सन भएको छ ।

आज कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको ३७ करोड ३ लाख ९५ हजारको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको ३५ करोड २३ लाख ९ हजारको कारोबार भएको छ । यस्तै, अपर तामाकोसी हाइड्रोपावरको २८ करोड ९२ लाख १३ हजारको सेयर कारोबार भएको छ ।

नेप्सेमा कारोबार भएको मध्ये १८३ कम्पनीको सेयर किनबेच हुँदा १४७ कम्पनीका सेयर मूल्य घटेको छ । यस्तै, २७ कम्पनीको सेयर मूल्य बढेको छ । नौ कम्पनीका मूल्य भने स्थिर रह्यो ।

आज कारोबार भरएका मध्ये अपर तामाकोसीको मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा समृद्धि फाइनान्सको सेयर मूल्य ३.६५ प्रतिशत र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य २.५६ प्रतिशतले बढेको छ ।

यता, ङ्यादी पावरको सेयर मूल्य ५.६८ प्रतिशतले, नेपाल इनस्योरेन्सको सेयर मूल्य ५.०८ प्रतिशत र बरुण हाइड्रोपावरको सेयर मूल्य ४.६९ प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *