Sajhamanch Archive

चुच्चे नक्सा प्रयोग नगर्ने विद्यालयसँग केन्द्रले सोध्यो स्पष्टीकरण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा भएको पाठ्यक्रम प्रयोग नगर्ने विद्यालयका प्रधानाध्यापक र त्यस्तो पुस्तक बिक्री वितरण गर्ने प्रकाशकलाई शिक्षा विकास तथा पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ ।

यस्तै, तोकेको भन्दा बढी पुस्तक किन्न लगाउने, सरकारले तोकेको मूल्य छोपेर अधिक मूल्यमा पाठ्यपुस्तक किन्न लगाउने र विद्यालयले भनेकै ठाउँमा अभिभावकले पुस्तक किन्नुपर्ने व्यवस्था गरेका विद्यालयका प्रधानाध्यापकलाई केन्द्रले स्पष्टीकरण सोधेको छ ।

केन्द्रका निर्देशक गणेश भट्टराईले चुच्चे नक्सा नभएका पाठ्यपुस्तक बिक्रि गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको उनले पुष्टी गरे । भन्छन्, ूविद्यालयमा कुन पुस्तक लगाउने, विद्यार्थीलाई कुन पाठ्यक्रम पढाउने निर्णय प्रधानाध्यापकले गर्छ । प्रकाशकको त पुस्तक बिक्रि वितरण गर्ने मात्र काम हो ।

२० भन्दा बढी प्रधानाध्यापक र ६ प्रकाशकलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । अन्य प्रकाशक र प्रधानाध्यापकको नाममा स्पष्टीकरणपत्र तयार भइरहेको केन्द्रले जनाएको छ । केन्द्रले आइतबार सम्पूर्ण पुस्तक प्रकाशक, सबै बिक्रेता एवम् वितरक तथा सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको नाममा पाठ्यपुस्तकको प्रयोगसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

उक्त सूचनामा केन्द्रको १ असारमा प्रकाशित सूचनाको आधारमा शैक्षिक वर्ष ०७८ को लागि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा हुनुपर्ने बताइएको छ ।

गत वर्ष नै पाठ्यपुस्तक र पाठ्यसामाग्री छपाइ भएको सन्दर्भमा सम्बन्धित पेजहरु पुन छपाई गरी नयाँ नक्सा समेटिएर बिक्री वितरण गर्नुपर्नेमा पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिबाट शनिबार अनुगमन गर्दा बजारमा अझै पुरानै नक्सा भएका पाठ्यपुस्तक बिक्री वितरण भइरहेको सूचनामा उल्लेख छ ।

यसरी केन्द्रको निर्देशन अटेरी गर्ने प्रकाशक र वितरकलाई स्पष्टीकरण सोधिएको हो । केन्द्रले प्रकाशक र वितरकलाई तत्काल केन्द्रको १ असारको निर्णयको पालना गर्दै नयाँ नक्सा प्रयोग गर्न पुनस् निर्देशन दिएको छ । पुनस् अनुगमन गर्दा पुरानै नक्सा भएको पाठ्यपुस्तक बिक्री गरेको पाइएमा त्यस्ता पुस्तक प्रकाशको नाम सार्वजनिक गरी कार्बाहीको प्रक्रिया अगाडी बढाइने निर्देशक भट्टराईले जानकारी दिए ।

यस्तै, अनुगमनको क्रममा कतिपय विद्यालयले कक्षा २, ३ र ६ मा स्वीकृत नयाँ पाठ्यपुस्तक तथा पाठ्यसामाग्रीको सट्टा पुरानै पाठ्यसामाग्री खरिद गर्ने गरी सूची उपलब्ध गराएको, तोकिएको विषयको अलावा सन्दर्भ सामाग्रीको नाममा अन्य पाठ्यसामाग्री खरिद गर्न बाध्य पारिएको भेटिएको छ ।

जानकारीमा आएका त्यस्ता विद्यालयको प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको हो । स्वीकृत पाठ्यक्रमभन्दा बाहिरका पुस्तक र पुराना पुस्तक प्रयोग नगर्न पनि केन्द्रले निर्देशन दिएको छ । कतिपय पाठ्यपुस्तक तथा पाठ्यसामाग्रीमा मूल्य उल्लेख नभएको, पुरानो मूल्य सूचीमा कालो पोती , स्टिकर टाँसी अधिक मूल्य राखी बिक्री वितरण गर्ने प्रकाशकलाई कारबाही गरिने जनाइएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ बमोजिम स्वीकृत पाठ्यक्रमअनुसार सामााजिक अध्ययन, मानव मूल्य शिक्षालगायत नेपाली कला संस्कृति र मौलिक पहिचानमूलक विषयको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनुपर्ने व्यवस्थाअनुसार यसवर्ष कक्षा १, २, ३, ६, ११ र १२ मा उक्त विषयहरु नेपाली माध्यममा पठनपाठन गर्नुपर्ने केन्द्रले यसअघि नै निर्देशन दिइसकेकाले सो को पालना गर्न पुनस् निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *