Sajhamanch Archive

सोमबारदेखि माथिल्लो तामाकोसीले ७६ मेगावाट विद्युत् उत्पादन गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो सोमबारदेखि ७६ मेगावाट विद्युत उत्पादन हुने भएको छ । विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम भइरहेको आयोजनाले जनाएको छ ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट यही असार २१ गतेदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट आउँदो सोमबारदेखि विद्युत् उत्पादनको तालिका तय गरेको हो ।

टोलीले विद्युत्गृहमा भइरहेको उपकरणहरुको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यु खिम्ती सबस्टेसनलगायत अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग छलफल गरेको थियो ।

“विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा पुर्‍याएका छौँ । सम्पूर्ण परीक्षणहरु अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआएमा सोमबार बिहान स्वीच अन गरी पहिलो युनिबाट विद्युत् उत्पादन सुरु गर्छौँ,’ शाक्यले भने ।

माथिल्लो र तल्लो ठाडो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारणलाइनको टावर निर्माणका विषयमा कम्पनीबाट तत्काल निर्णय नलिइएको भए आयोजना अझै पर धकिलिने अवस्था रहेकोमा समयमै निर्णय गरी काम सम्पन्न गरेको उनले बताए ।

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायत सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विद्युतगृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । यसका लागि प्रसारणलाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ ।

७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारणलाइनको परीक्षण भइरहेको छ । माथिल्लो तामाकोसीको विद्युत्गृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारणलाइनको परीक्षण गरिनेछ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यु खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ । सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकोले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत् न्यु खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने शाक्यले बताए ।

सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यु खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारणलाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिनेछ । आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायत पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३ मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८ मा सुरु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *