Sajhamanch Archive

एमाले बैठकमा मन्त्री श्रेष्ठको राजीनामा माग

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

एमालेको नेता तथा मन्त्रीजस्तो व्यक्ति भएर जातीय विभेदको आरोप लागेको मान्छेलाई छुटाउन आफूले प्रयोग गर्दै आएको सरकारी गाडी लिएर गएको विषय अशोभनीय भएको पूर्वमन्त्री विश्वकर्माको भनाइ छ । बैठकमा अरू नेताले पनि मन्त्री श्रेष्ठको आलोचना गरेका थिए ।

यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि मन्त्री श्रेष्ठले माफी माग्नुपर्ने बताएका थिए । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत अबदेखि यस्तो काम नगर्न भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराएका थिए ।

यसैबीच मन्त्री श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग पुगेर गल्ती महसुस गरेका छन्। आयोगका पदाधिकारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले आफूले गल्ती गरेको र अबका दिनमा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

रूपा सुनारमाथि जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले गएको ९ गते रिहा गरेको थियो । रिहाइका लागि मन्त्री श्रेष्ठ आफैँ सरकारी गाडीसहित वृत्तमा पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *