Sajhamanch Archive

सेयर बजारमा सामान्य गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन भएको छ । साताको चौथो कारोबार दिन बुधबार उतार–चढावबीच सेयर बजार परिसूचक नेप्से ४.१३ अंकले गिरावट भएर २८२३.८७ अंकमा बन्द भएको छ ।

मंगलबार २८२८ अंकमा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा सामान्य बढेर २८३५.६७ अंकमा खुलेको थियो । बजार खुले पनि सुरुमा केही माथि जाने कोसिस गरेको नेप्से २८४४.१९ अंकसम्म पुगेको थियो । दिनभरजसो उतार–चढाव भएको नेप्से मंगलबारको तुलनामा ४६ अंकले झरेर २७८२ अंकसमम झरेको थियो ।

दिउँसो करिब पौन १ बजेसम्म बिक्री चाप हाबी हुँदा घट्दो क्रममा देखिएको नेप्से त्यसपछि भने केही उतार–चढाव देखिए पनि लगातार बढ्दो क्रमामा नै रह्यो । अन्तिममा सामान्य घटेर बन्द भयो ।

बजार परिसूचकमा सामान्य गिरावट हुँदा कारोबार रकम पनि घट्दो क्रममा नै देखिएको छ । यही जेठ ३१ गते एकैदिन १९ अर्ब ५५ करोड रुपैयाँसम्मको कारोबार भएको बजारमा त्यसयता लगातार घट्दै गएको कारोबार रकम १७ दिनपछि ६ अर्बभन्दा तल झरेको छ ।

आज नेप्सेमा १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजारको सेयर किनबेच भएको छ । आज नेप्सेलाई वित्त कम्पनी र विकास बैंक उपसूचकले उचाल्ने प्रयास गरे पनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचकका साथै होटेल तथा पर्यटन, लगानी, लघुवित्त र जीवन बिमा उपसूचकमा करेक्सन हुँदा नेप्सेमा पनि समान्य गिरावट भएको छ ।

करिब दुई सातायता लगातार घट्दो क्रममा देखिएको वित्त कम्पनी र विकास बैंक उपसूचमा भने आज बाउन्स ब्याक नै भएको छ । आज वित्त कम्पनी उपसूचक सर्वाधिक ५.८१ प्रतिशत र विकास बैंक उपसूचक ३.१७ प्रतिशतले बढेको छ ।

यता, लगानी उपसूचक सर्वाधिक २.२१ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचक १.१.३९ प्रतिशत र लघुवित्त उपसूचक ०.९१ प्रतिशतले घटेको छ । यस्तै, जीवन बिमा उपसूचक ०.६६ प्रतिशत र बैंकिङ उपसूचक ०.२१ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा नेपाल इनस्योरेन्सले कारोबार रकममा लिड गरेको छ । कम्पनीको सर्वाधिक ३० करोड ४२ लाख ५८ हजारको कारोबार हुँदा ए्रनएलजी एन्स्योरेन्सको २१ करोड ६९ लाख ९५ हजार र नेसनल हाइड्रोपावरको १८ करोड ७६ लाख २६ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबारमा आएको १८३ कम्पनीमध्ये ७५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९५ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य धेरै बढ्नेमा वित्त कम्पनी र विकास बैंक रहेका छन् । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा सबै वित्त कम्पनी रहेका छन् । पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पस फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको हो ।

यता, जलविजद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशले घट्दा खानीखोला हाइड्रोपावरको सेयर मूल्य ३.३५ प्रतिशत र गणपति माइक्रोफाइनान्सको सेयर मूल्य ३.२६ प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *