Sajhamanch Archive

बंगलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

वीरगन्ज । बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ ।

सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।

जीटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिकटन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका प्रबन्धक गोरखनाथ केसीले बताए ।

उनका अनुसार बंगलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिकटनबाहेक थप दुई हजार मेट्रिकटन युरिया मल नेपाल आउने भएको छ । यस वर्ष धान रोप्ने समयमा मलको अभाव नहुने उनको भनाइ छ ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भएको प्रबन्धक केसीले बताए ।

सम्झौता अनुसारको बाँकी पाँच र थप दुई गरी कुल सात हजार मेट्रिकटन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगन्ज, विराटनगर र भैरहवामा आइपुग्ने बताइएको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन (जीटुजी)मार्फत खरिद गरेर बंगलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।

अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसान यो वर्ष समयमै मल पाउँदा खुसी भएका छन् । केही दिनयता मनसुन सक्रिय भई पानी परेकाले पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेशप्रसाद चौरसियाले बताए । पर्सामा कुल ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जमा अहिले युरिया मल एक हजार ७०० मेट्रिकटन, डीएपी ७६० मेट्रिकटन र पोटास ८२० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ । पर्सा जिल्लास्थित १३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एकपटकमा १३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेका छन् ।

कतिपय विक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारबाही गर्नुपर्ने माग किसानको छ । पर्सामा ९० प्रतिशत किसानले व्यावसायिक रुपमा धान खेती गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *