Sajhamanch Archive

युवाको सक्रियतामा अग्नीपीडितलाई घर हस्तान्तरण

Published: in मिडियाबाट साभार, समाज, by .

विराटनगर । आगलागीबाट घर जलेर मृत्यु भएकी झापा कमलगाउँपालिका ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई युवा सक्रियतामा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

स्थानीय युवाको सक्रियतामा बस्नेत परिवारको घर निर्माण गरिदिने अभियान चलाइएको थियो । घरसँगै व्यवसाय गर्न २ लाख १६ हजार रुपैयाँको चेक पनि परिवारलाई दिइएको छ ।
आगोले जल्दा देवीवहादुर बस्नेतका २२ वर्षीया छोरी कुलमायाको मृत्यु भएको थियो । घर निर्माण समितिका संयोजक हुकुमसिंह राईले बस्नेत परिवारमा दुःखको ठूलो बज्रपात भएकाले आफूहले सहयोग जुटाएर घर निर्माण गरिदिएको बताए । जस्तापाताले छाएर इँटा जडान गरी पक्की घर निर्माण गर्न जम्मा ५ लाख ४५ हजार रुपैयाँ खर्च भएको समितिका आर्थिक संयोजक हर्कबहादुर रायले बताएका छन् ।

बस्नेत परिवारको तीन पुस्ता स्थानीय एक परिवारको घरायसी कामदारका रुपमा बस्दै आएको थियो । खोले पकाउन आगो बालेको चुल्होमा परेपछि कुलमायाको उपचारमा समस्या भएको थियो । पछि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन भई सहयोग जुटाइएको थियो । उपचारका क्रममा विरामीको मृत्यु भएपछि त्यही अभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।

घरायसी काम गर्दै आएको परिवारले दश धुर घडेरी उपलब्ध गराइदिएको हो । कूलमाया बचाउ अभियानकै बीचमा विरामीको उपचारका लागि ३ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । सो रकमसमेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम २ लाख १६ हजार रुपैयाँ जीविकोपार्जनमा सहयोग पुगोस भनेर सहयोग गरिएको संयोजक राईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *