Sajhamanch Archive

फिलिपिन्सको सैन्य विमान दुर्घटनामा ५० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, by .

बीबीसी । दक्षिण फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् ।

लकहिड सी–१३० विमानले ९६ यात्रु बोकेको थियो जसमध्ये अधिधकांश सेनाहरु थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेको तर यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्थानीय सर्वसाधारणको पनि मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । यसअघि पाँच जनाको अवस्था थाहा नहुँदा खोजी भइरहेको थियो तर अहिले भने सबैको पत्ता लागिसकेको छ । फिलिपिन्सको सुरक्षाबलका प्रवक्ताले समाचार साइट एबीएस–सीबीएनसँग कुरा गर्दै उडानको डाटा रेकर्डर हेरेर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

मेजर जेनेरल एड्गार्ड एरेभालोका अनुसार विमानमा बाहिरी आक्रमणको कुनै संकेत देखिएको छैन । यसमा बाँचेकाहरु विमान भुईमा ठोक्किनु अगाडि नै विमानबाट हाम फालेर आफूलाई बचाएको क्षेत्रीय सैन्य बलको बयानमा उल्लेख गरिएको छ ।

उनीहरुको अवस्थाबारे चाहिँ विस्तृतमा जानकारी दिइएको छैन । एएफपीको रिपोर्ट अनुसार विमानमा सवार प्रायः ले केही समय अगाडि मात्र सामान्य सैन्य प्रशिक्षण पूरा गरेका थिए ।

सो विमान यसअघि अमेरिकी एयर फोर्सको सेवामा रहेको थियो र जनवरीमा मात्र फिलिपिन्सलाई हस्तान्तरण गरिएको हो ।

एभिएसन सेफ्टी नेटवर्कका अनुसार यो विमानले सबैभन्दा पहिलो उडान १९८८ मा पूरा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *