Sajhamanch Archive

ओलीसँग भीम रावलले भने– हस्ताक्षर फिर्ता गर्दैनौं, कार्यदल सक्रिय बनाऔँ

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहलाई फकाउने प्रयत्नमा छन् ।

आइतबार एमाले उपाध्यक्ष भीम रावललाई ओलीले बालुवाटार डाके ।

लामो समयपछि ओली र रावलबीच वार्ता भयो । भेटमा रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको र विवाद समाधानका लागि यसअघि बनाएको कार्यदललाई सक्रिय बनाउन प्रस्ताव राखेका छन् ।

“आफ्नो लहडमा चल्ने कारणले यस्ता समस्या उत्पन्न भएका हुन् । त्यसैले विधि पद्धति मानौँ । पार्टी एकीकरणका सन्दर्भमा कुनै किसिमको द्धिविधामा छैनौँ । विगतमा भएका कमिकमजोरीलाई सच्याउँदै विवाद समाधनका लागि बनेको कार्यदल सक्रिय बनाऔं,” उनको प्रस्ताव थियो ।

उक्त प्रस्तावमा ओली सकारात्मक भएको स्रोतको भनाइ छ । पार्टी विवाद समाधानका लागि केही समयअघि १० सदस्यीय कार्यदल बनेको थियो ।

पार्टी विवाद चुलिँदै जाँदा उक्त कार्यदल भंग भएको नेताहरुले बताउँदै आएका थिए । ओलीले आफ्नो समूहका नेताहरुसँग छलफल गरेर निष्कर्ष दिन भनेको स्रोतले जानकारी दिए ।

त्यस्तै भेटमा ओलीले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

रावलले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस भइरहेका बेला उक्त हस्ताक्षर फिर्ता लिनुको अर्थ नभएको र नलिने जवाफ दिएको स्रोतको भनाइ छ ।

“प्रतिनिधि सभाको विघटनको उत्पादनस्वरुप हस्ताक्षर भएको हो । हस्ताक्षर फिर्ता हुने सम्भावना नै छैन । सर्वोच्चमा बहस भइरहेका बेला हस्ताक्षर फिर्ता लिने र दिने कुराले कुनै अर्थ राख्दैन । अदालतबाट आउने निर्णय प्रक्रियाको स्वीकार गरे जानुको विकल्प छैन,” उनको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो,“हामीले हस्ताक्षर संविधान पद्धतिका लागि देउवाको पक्षमा हस्ताक्षर गरेका हौँ ।”

त्यस्तै जेठ २ मा पुगेको भनेर फागुनमा पुग्नुले पार्टी एकतामा भलो नगर्ने पनि बताएका थिए ।

जेठ २ को कमिटीमा नगइ पूर्व माओवादीलाई कमिटीमा राख्दा एकतामा भाँजो हाल्ने काम मात्रै हुने रावलको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *