Sajhamanch Archive

काठमाडौंमा खोप केन्द्र अस्तव्यस्त, खोप लगाउन पुगेका आक्रोशित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ ।

भेरोसेलको पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन सूचना जारी गरेअनुरुप मंगलबार खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कैयौँले खोप लगाउन नपाई फर्कनुपर्‍यो ।

निजामती अस्पताल, प्रसूतिगृह, वीर अस्पताल, टेकुलगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित बने ।

उनीहरुले सरकारले सही सूचना नदिएका कारण आफूहरुले दुःख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।

मीनभवनका उपेन्द्र पौडेलले बिहान ६ बजेदेखि लाइन बसेर दिउँसो २ बजेसम्म पनि खोप लगाउन पाएनन् । खोप लगाउने विषयमा सरकारले खेलबाड गरेको भन्दै उनले आक्रोश पोखे ।

“बेसरी गाहो भयो । प्रेसर, सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायकपनले जनतालाई दुःख दिएको छ,” उनले भने ।

बानेश्वरका तेजबहादुर दाहाल पनि बिहान ६ बजेदेखि निजामती अस्पताल खोप केन्द्रमा लाइनमा बसे । तर, दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापनप्रति आक्रोश पोखे ।

आलोकनगर टोलसुधार समितिका अध्यक्षसमेत रहेका डीआर पोखरेलले खोप लगाउन आफू बिहान ३ बजेदेखि लाइनमा बसेको बताए । तर, दिउँसोसम्म खोप लगाउन पाएनन् ।

“जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकाल्देर पन्छिन पाइन्छ सरकारले ?लाइनमा तीनरचार हजार जनता छन्, अहिले बाँड्ने बेलामा बढीमा ५०० बाँड्ने रे,” उनले भने ।

पुण्यप्रसाद भट्टराईले आफू बिहान ६ बजेदेखि लाइन बसे पनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाइन बसेपछि खोप लगाउन पाएको बताए ।

काठमाडौंमा महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ । अरु नगरपालिकामा प्रत्येकमा दुई खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुःख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *