Sajhamanch Archive

हैटीका राष्ट्रपतिको हत्यापछि प्रहरीद्वारा चार शङ्कास्पद व्यक्तिको गोली हानी हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमार्डौं । हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले चार जना शङ्कास्पद व्यक्तिको गोली हानेर हत्या गरेको छ । राष्ट्रपति मोइसीको हत्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरी प्रमुख लियोन चार्ल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको हत्याले देश स्तब्ध बनेको र यसमा संलग्नमाथि नरम बन्न नसकिने पनि प्रहरीका प्रमुख चार्ल्सले बताएका छन्। हिजो बुधवार हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको थियो भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको पनि बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको हत्यापछि हैटीमा सङ्कटकालको घोषणा गर्दै अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले आतङ्कवादसँग जुध्नका लागि सहयोगको अपिल पनि गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतले हत्यालाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै धैर्यता नगुमाउन हैटीका नागरिक र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *