Sajhamanch Archive

औद्योगिक करिडोरका एक लाख मजदुर खोपको प्रतीक्षामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, स्वास्थ्य, by .

विराटनगर । हुलास वायरर्समा निकै लामो समयदेखि कार्यरत सूर्यकुमार गिरी कोरोनाकालमा उद्योगको बहिर्गमनमा परे । उनीजस्ता अरु मजदुरहरुलाई पनि उद्योगले बिदाबारी गरिदियो । यसको विरोधमा उनीहरु श्रम कार्यालय पुगे ।

गिरीले आफूहरुलाई बेरोजगार बनाइन नहुने बताउँदै भने, “कोरोनामा खोपबिनै हामीले जोखिम मोलेर काम गरिरहेका थियौँ । तर, बहिर्गमनमा परियो ।” गिरीले खोप नपाए पनि काम गरिरहेका श्रमिकहरुको अवस्था निकै नाजुक रहेको सुनाए ।

हुलास वायरले ९३ मजदुरलाई बिदा दिएपछि आन्दोलन नै सुरु भएको छ । श्रमिकलाई एकातिर खोप नपाइँदा ज्यानको जोखिम छ भने अर्कोतिर कोरोनाले उद्योगमा परेको असरले हटाइने हो कि भन्ने चिन्त छ । निषेधाज्ञाका बेला धेरै उद्योगले श्रमिकको संख्या नै कटौती गरेर सञचालन गरेका छन् ।

कोरोनाको दोस्रो लहरका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले आधा उत्पादन कटौती गरे । उद्योग संगठन मोरङका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरका कतिपय उद्योग कोभिड–१९ र यसको नयाँ भेरियन्टको संक्रमण फैलिएसँगै धराशायी बन्न पुगेका हुन् । लामो समयको निषेधाज्ञा, उत्पादनमा भएको कटौती र व्यापारमा आएको मन्दीले परेको नकारात्मक असर अझै रोकिएको छैन ।

मुर्झाएको उद्योगलाई पूवर्वतः गराउन औद्योगिक क्षेत्रले ठूलो परिमाणमा श्रमिकलाई खोप लगाउनुपर्ने सरकारसँग माग गर्दै आएको छ । “तर, खोप अभाव देखाउँदै सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेकै छैन,” नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत भन्छन्, “श्रमिकलाई खोप नलगाई उद्योग सञ्चालन गर्न कठिन छ । दोस्रो लहरको संक्रमण अझ खतरनाक र अधिक संक्रामक देखिएकोले श्रमिकलाई खोप अनिवार्य भएको हो ।”

उनले निजी क्षेत्रले प्रदेश र संघीय सरकारलाई समेत खोपको लागि आग्रह गरेको तर खासै चासो नदिइएको गुनासो गरे । बरु, निजी क्षेत्रलाई नै खोप आयातको बाटो खुला गरिदिन आफूहरुले आग्रह गरेको भन्दै उनले उद्योगको उत्पादनबिना धेरै क्षेत्र चल्न नसक्ने भए पनि त्यहाँ कार्यरत मजदुर, कर्मचारी र उद्योगीलाई खोप पाउने प्राथमिकतामा नराखिएको बताए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा कोरोनाको दोस्रो भेरियन्टको कारण औद्योगिक र व्यापारिक क्षेत्रमा अझ ठूलो असर पुगेको बताउँछन् । खासगरी प्रदेश–१ को उद्योग, व्यापार र पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको बताउँदै मुन्दडाले भने, “संक्रमण निदानको एक मात्र विकल्प खोप नै हो । तर, सरकारले उद्योग तथा व्यापार क्षेत्रसँग सम्बन्धितहरुलाई प्राथमिकतामा राखेको छैन । हामीले श्रमिक, मजदुर र व्यापार, व्यवसाय गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिलाउन माग गरिरहेका छौँ ।”

मुन्दडाले प्रदेशको राजधानी विराटनगरका व्यापारी तथा व्यवसायीलाई समेत प्राथमिकतामा राखेर खोप दिलाउन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरिएको जानकारी दिए ।

नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा करिब एक लाख मजदुर र श्रमिक कार्यरत छन् । उनीहरु खोपको प्रतीक्षामा छन् । श्रमिकलाई पूर्ण रुपमा खोप दिलाउन सक्ने हो भने उद्योगहरु पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने बताउँदै घिमिरेले भने, “लकडाउनका बेला खाद्य उद्योगहरु सञ्चालन भए, नागरिकले ती वस्तु प्राप्त गर्न विमुख हुनु परेन । तर, त्यहाँ उत्पादनमा सक्रिय भएका श्रमिकहरु भने जोखिम मोलेरै श्रम गर्न बाध्य भए । सरकारले श्रमिकलाई फन्टलाइनरमा गणना गरेर खोपमा प्राथमिकता दिनुपर्छ ।”

घिमिरेले यहाँको उद्योग क्षेत्रका एक लाख मजदुर, कर्मचारी र उद्योगीलाई खोपको प्रबन्ध गर्नुपर्ने विषयमा संघले प्रदेश–१ सरकार र जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको पनि ध्यानाकर्षण गरेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *