कोभिड अस्पतालको सुविधाले जनताको मन जितेको मन्त्री राईको दावी
Published:
by .विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताएकी छन् । कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उनको भनाई छ ।
आज अस्पतालको अनुगमन गर्दै सामाजिक विकास मन्त्री राईले निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको दावी गरिन् । प्रदेश १ सरकारले अन्य प्रदेशभन्दा पहिले व्यवस्थित रुपमा कोभिड अस्पताल सञ्चालन गरेको भन्दै उनले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको पनि बताइन् ।
अनुगमनका क्रममा मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिएकी थिइन् । कोरोना संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको पनि उनको भनाई छ । प्रदेश सरकारले यसका लागि आवश्यक बजेटको पनि प्रवन्ध गरेको मन्त्री राईले बताएकी छन् ।
९६ वटा वेड रहेको कोभिड अस्पतालमा आज ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । उनका अनुसार जनरल बेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको संयोजक साहको भनाई छ ।
Comments