मन्त्री चयनका लागि देउवा परामर्शमा
Published:
by .काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् ।
मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहान महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाल लगायतका नेताहरु पनि देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड छ ।
कांग्रेसका तर्फबाट पहिलो चरणमा दुईजना मन्त्री पठाउने तयारी भएपनि नामको टुंगो लागिसकेको छैन । ‘कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भइरहेको छ, तर नाममा टुंगो लागिसकेको छैन,’ बुढानीलकण्ठ स्रोतले भन्यो, ‘सकेसम्म आज अर्थ र स्वास्थ्यमन्त्रीको सपथ गराउने तयारी हो ।’
सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको थियो ।
विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र पनि मन्त्रीबारे निर्णय गर्न बिहानैदेखि छलफलमा छ ।
Comments