तिमीसँगै बसेर बनाएका योजनाले पुर्णता पाउँछ
Published:
by .झापा । मैले २०६७/६८ बाट रेडियोमा काम गर्न थालेको थिएँ । त्यतिबेला कम्ती मात्रामा झापामा मिडिया हाउस भएकाले होला संचारकर्मीको महत्व र भूमिका फरक थियो ।
हरेक राजनीतिक दल र तिनका नेता कार्यकर्ता, सामाजिक ब्यक्ति, व्यवसायीहरु संचारकर्मीसंग निकट हुने गर्दथे । सोही क्रममा सुनेको एकजना राजनीतिक ब्यक्तित्वको नाम हो ज्ञानुराम प्रसाई ।
जतिबेला पूर्वमा लिम्बुवानसहित क्षेत्रीय पार्टीको उपस्थिति र गतिविधि गहकिलो थियो । राष्ट्रीय दल र क्षेत्रीय पार्टीबीचमा वैचारिक र सांगठनिक द्वन्द्व एक हिसाबले देखिन्थ्यो । नेकपा एमालेको नगर कमिटी अध्यक्ष रहेका ज्ञानुरामले जहिल्यै निर्णायक भूमिका निभाउनु हुन्थ्यो । यतिकैमा २०७१/७२ तिर एक कार्यक्रममा औपचारिक रुपमा भेटघाट र चिनजान भएको थियो मसंग । त्यस अगाडी फोनमा कुरा हुन्थ्यो । तर, भेट भने भएको थिएन हाम्रो । जुन दिनबाट उहाँसंग भेट भयो, त्यसयता मैले एउटा कुशल इमान्दार नेतृत्व पाएको महसुस गरेको थिएँ ।
त्यसपछि २०७४ मा स्थानीय तहको निर्वाचन हुने तय भयो । भाउजु पवित्राले पार्टीबाट उपमेयरको टिकट पाउनु भयो । तर, म उहाँलाई दिदी भनेर सम्बोधन गर्छु । कम्युनिष्ट विचार मन पर्ने भएकाले एमाले नेता कार्यकर्तासंग मेरो निकटता राम्रै थियो । उम्मेद्वारी घोषणा सभा थियो । त्यसदिन बिहान दाई सुवास भट्टराईले फोन गरेर भेट्न भनेपछि मैले एक घण्टापछि समय निकाल्ने भनेँ । दाई सुवाससंग भेट भयो र उहाँले मलाई गाडीमा राखेर मेयरका प्रत्यासी ध्रुवकुमार शिवाकोटीको घरमा लिएर जानु भयो । चिनजान गराउँदै चुनावी प्रचारप्रसार र मिडिया संयोजन सरोजले गर्नु हुन्छ भनेर भनेपछि हामी निस्कियौं ।
त्यसपछि दाई ज्ञानु प्रसाईकोमा आयौं अनि त्यहाँ पहिलो पटक दिदी पवित्रासंग औपचारिक चिनजान भएर त्यहाँ पनि त्यही कुरा भयो । मेयर र उपमेयरको चुनावी प्रचारप्रसार सरोजले गर्नुहुन्छ भनेर परिचय गराउनु भयो सुवास दाईले । हामी निस्कियौ त्यहाँबाट । मैले मेरो तर्फबाट गर्नु पर्ने काम र जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेँ भन्ने लाग्छ ।
उहाँहरुले चुनाव जित्नु भयो । उहाँहरुले चुनाव जित्नु मेरो पनि सफलता नै थियो । त्यसपछि म सँग दाईभन्दा दिदी नजिक भएर हरेक कुरा मलाई भन्नुहुन्थ्यो । पारिवारिक होस् या राजनीतिक, सामाजिक जे हुन् । कहिलेकाहिँ रातको ११/१२ बजेसम्म पनि विभिन्न विषयमा छलफल र कुरा हुन्थ्यो मसंग । यो तीन बर्षको समयमा १०० पटकभन्दा बढी उहाँहरुसंगै घरमा खाना खाएँ होला । मलाई चित्त नबुझेका कुरा राख्थेँ , रिसाउथेँ । सम्झाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो– भिड्नु पर्छ, फटाहाको संगत र जालबाट टाढा बस्नु एकदिन समय आउँछ ।
म पत्रकारितासंग बालबालिकाको क्षेत्रमा काम गर्थे । बालबालिका लक्षित गतिविधि गर्दा आर्थिक र नैतिक सहयोग मैले नमागे पनि गर्नुहुन्थ्यो । २ बर्ष अगाडि दाईको जन्मदिन मैले मेरो गाउँ बिर्तामोड नगरपालिका ९ गरामनीमा स्थानीय संथाल जातिसंग मनाएको थिएँ । त्यति बेला दाईले भन्नुभएको थियो– हामी आफ्नो र परिवारको लागि मात्र होईन, यो समाजको लागि हो भनेर । अरुले के गरे कति कमाए मात्र होईन मैले के गरेँ र गर्दैछु भनेर काम गर्नु पर्छ । जतिबेला दाई किशोर पौडेलको साथमा त्यहाँ पुग्नुभएको थियो । त्यसैक्रममा अंपाङ्ग डोलेश्वर राजवंशीलाई पनि केही सामग्री दिन उनैको घरमा पुगियो र सामग्री दिएलगत्तै मैले भनेँ– डोलेको एउटा घर बनाउने भनेर सोचेका छौँ । दाई ज्ञानु र किशोरले भन्नुभयो– ‘काम शुरु गर्नु के आवश्यक पर्छ भन्नु ’भनेर जानु भयो । केही समयपछि हामीले घर बनायौँ । उहाँहरुले आवश्यक सबै सहयोग गर्नुभयो । घर हस्तान्तरण कार्यक्रममा दाई ज्ञानुले डोलेलाई कोट पाइन्ट टोपी दिनु भयो । डोलेको शरीरमा पहिलो पटक सुकिलो कपडा परेको थियो त्यो पनि सुट ।
समय क्रम बित्दैै गयो । दाईसंगको निकटता र सहकार्य बढ्दै गयो । मैले लगानी गर्न भनेको ठाउँमा लगानी गर्ने ,कसैलाई सहयोग गर्न भनेको ठाउँमा सहयोग गर्ने र गतिविधि गर्नेमा उमेरले सानो भएपनि म प्रतिको बिश्वास अगाध थियो ।
पछिल्लो समय दाईलाई मैले एउटा प्रस्ताव गरेको थिएँ । उहाँले स्वीकार गर्नु भयो । त्यो थियो प्रदेशमा पहिलो बाल अस्पताल र पत्रकारिता विषयको कलेज संचालन गर्ने । यसका लागि कानूनी र ब्यबहारिक काम अगाडि बढाउने जिम्मेवारी पाएको थिएँ । काम धेरै अगाडि बढेको थियो । तर उहाँ स्थिर हुनु भयो । यो संसारबाट विदा लिनु भयो । धेरै कुरा भएका थिए हामीबीच । छोरी प्रज्ञा (गुड्डे ) लाई डाक्टर पढाउने र आफू एकपटक झापाबाट राजनीतिक जिम्मेवारी लिएर जनताको सेवा गर्ने दृढ संकल्पित हुनुहुन्थ्यो । यहाँका सामाजिक, राजनीतिक गतिविधिलाई संस्थागत गर्ने दाईको सपनालाई साकार पार्नेमा म प्रतिबद्ध हुने प्रण गर्दछु । दिदी पवित्रा, नानी प्रज्ञा,बाबु प्रजेश र हामीसंग सहयात्रा गर्ने मेरो सबैप्रति ।
Comments