Sajhamanch Archive

एक महिनापछि पुनः तीन हजारमाथि नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा एक महिनापछि नेप्से पुनः ३,००० अंकमाथि पुगेको छ । बिहीबार बजार परिसूचक नेप्से १८.७६ अंकले वृद्धि हुँदा ३,००४.३३ अंकमा बन्द भएको छ ।

गएको जेठ ३१ गते ३,०२५.८३ अंकको ऐतिहासिक उचाइ कायम गरेर झरेको नेप्से उतार–चढावबीच एक महिनापछि पुन तीन हजार अंकको विन्दुमा पुगेको हो ।

असार लागेसँगै बजार परिसूचक र कारोबार रकम क्रमशः घट्दै गएको सेयर बजारमा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै क्रमशः बढ्दै गएको छ । जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँसम्मको कारोबारपछि दुई साता अगाडि कारोबार रकम चार अर्बसम्म झरेको थियो । तर, गत साताबाट भने बजार परिसूचक र कारोबार रकम दुवै लयमा फर्किएको छ ।

मंगलबारको तुलनमाा नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । मंगलबार आठ अर्बमा झरेको कारोबार रकम आज बढेर ११ अर्ब नाघेको छ ।

बम्पर लाभांश घोषणा सुरु गरेसँगै म्युचुअल फन्डका इकाइमा लगानीकर्ताको आकर्षण बढेको छ । जसले गर्दा बजारमा कारोबार भएको धितोपत्रको युनिट बढेको छ । आज नेप्सेमा ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २२ हजारको कारोबार भएको छ । आज बजारमा म्युचुअल फन्डसँगै बैंकिङ उपसूचकले बजारलाई लिड गर्दा कारोबार रकममा पछि वणिज्य बैंक अगाडि देखिन्छन् ।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा रहेका बैंकहरुको रिकभरी राम्रो हुँदा राम्रो लाभांशको अपेक्षामा वाणिज्य बैंक लगानीकर्ताको आकषर्णमा परेको छ ।

आज नेप्सेमा म्युचुअल फन्ड उपसूचक सर्वाधिक ५.२७ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक १.७२ प्रतिशत र वित्त कम्पनी उपसूचक १.५७ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर र निर्जीवन बिमा उपसूचकमा पनि वृद्धि हुँदा त्यसबाहेकका सबै उपसूचक गिरावट भएका छन् ।

व्यापार उपसूचक २.०२ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक ०.५३ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ०.४२ प्रतिशत र उत्पादनमूलक उपसूचक ०.३४ प्रतिशतले गिरावट भएको छ ।

आज नेप्सेमा कृषि विकास बैंकको ४६ करोड २७ लाख ६५ हजारको कारोबार हुँदा नेपाल बैंकको ३६ करोड ५ लाख ८१ हजार र एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख ४८ हजारको कारोबार भएको छ ।

यस्तै, नेप्सेमा २५ प्रतिशत लाभांश घोषण गरेको लक्ष्मी उन्नति कोषको इकाइ मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावर, ङ्यादी ग्रुप पावर, पोखरा फइनान्स र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य पनि बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यता, हिमालयन पावर पार्टनरको सेयर मूल्य ४.०७ प्रतिशतले गिरावट हुँदा बरुण हाइड्रोपावरको सेयर मूल्य ३.९३ प्रतिशत र विशाल बजार कम्पनीको सेयर मूल्य ३.१० प्रतिशतले घटेको छ ।

आज नेप्सेमा १८३ कम्पनीको सेयर कारोबारमा आएकोमा ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीका सेयर मूल्य भने स्थिर रह्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *