२० कम्पनीको पौने ८ करोड कित्ता आईपीओ खुल्दै
Published:
by .काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।
सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताए ।
‘गत आर्थिक वर्षमै अनुमति पाएका पाँच कम्पनी आईपीओ जारी गर्ने क्रममा छन् । बाँकी १५ कम्पनीको आईपीओ जारी गर्ने मागबारे बोर्डले अध्ययन गरिरहेको छ,’ सूचना अधिकारी केसीले भने । प्रक्रिया पुगेका कम्पनीलाई क्रमैसँग आईपीओ जारीको अनुमति हुने पनि उनले बताए ।
धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै बिक्रीमा आउँदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एकरदुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।
जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने अन्यको मिति निश्चित भएको छैन ।
थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।
उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।
साथै यही आर्थिक वर्षमा थप पाँच जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्ष ७ कम्पनीले आईपीओ जारी गरेका छन् । बाँकी ६ मध्ये सानिमा जनरल आईपीओ जारी गर्ने प्रक्रियामा छ भने अन्य पाँच कम्पनी आईपीओ जारी गर्न निवेदनको चरणमा छन् ।
Comments