Sajhamanch Archive

फुटबल खेल्दा भएको विवादलाई लिएर एक जनाको हत्या

Published: in खेलकुद, समाज by .

झापा । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ ।

छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षे अभिशेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए ।

ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याउनसाथ झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ । ‘स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छरसात जनाको समूहमा रहेका युवाहरुले अभिशेकमाथि छुरा हानेका हुन्,’ उनले भने ।

छुरा प्रहार र आक्रमणबाट अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठले बताए ।सामान्य अवस्थामा रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न अरु युवाहरु फरार रहेका कारण खोजी भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिए । युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएको प्रहरीले बताएको छ ।

विवाद त्यतिबेलै मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको प्रहरीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *