बिर्तामोडका कोरोना फोकल पर्सन खड्का २०० डोज भेरोसिल खोपसहित होटलबाट पक्राउ
Published: (Updated: )
by .बिर्तामोड । बिहान ९ बजेदेखि झण्डै दिनभर निजी विद्यालयका शिक्षक कर्मचारीहरु बिर्तामोड नगरपालिका अघिल्तिरको महेन्द्र रत्न माविको प्राङ्गणमा लाइनमा बसेका थिए । हिजो अस्ती भ्याक्सिन लगाउन छुटेका ५५ वर्ष माथिका ज्येष्ठ नागरिक अनि नगरपालिकाले निर्धारण गरेका कोटामा पर्ने मानिसहरु पनि उत्तिकै थिए ।
बिर्तामोड ५ स्थित देवी मावि खोप केन्द्रमा भेला भएका मानिस पनि बिर्ताबजार नै जम्मा भएका थिए । तर स्वास्थ्यका कर्मचारी आउजाउ भइरहे पनि खोप लगाउने कार्य सुरु गरिएन । कारण थियो निजी विद्यालयका शिक्षकलाई नगरपालिकाको शिक्षा शाखाले गरेको विभेद । नगर क्षेत्रका निजी विद्यालयका ५०५ जनाले मात्र खोप लगाउने पाउने गरी हिजो सर्कुलर गरिएको थियो । कारण थियो खोपको अभाव ।
तर आजै दिउँसो नगरपालिकाका कोरोना फोकलपर्सन ओम खड्कालाई चाहिँ सत्तारुढ नेपाली कांग्रेसका तरुण–विद्यार्थीहरुले एक होटलमा कोरोना विरुद्धको दुई सय डोज भेरोसेल खोपसहित रङ्गेहात फेला परेका छन् । बिर्तामोडस्थित टाइमलेस मोमेन्ट होटलको काउन्टरमा एक कार्टुन खोपसहित खड्कालाई फेला पारेको नेविसंघका जिल्ला अध्यक्ष राजेन्द्र उप्रेतीले बताएका छन् ।
उक्त कार्टुनमा २०० डोज खोप रहेको बताइएको छ । स्वास्थ्य कार्यालयले नगरपालिकामा बुझाउनुपर्ने स्वास्थ्य सामग्री बाटो कटाएर स्वास्थ्यका कर्मचारीलाई होटलमा ल्याएर बुझाउनुले खोपको अभाव देखाउँदै भित्रभित्रै अवैध ब्यापार भइरहेको स्थानीयको आशंकालाई थप बल पुर्याएको छ ।
बिर्तामोड नगरपालिका अन्तरगत कोरोना फोकल पर्सन खड्काले जिल्ला स्वास्थ्य कार्यालयको गाडीमा हालेर खोप होटलको काउन्टरसम्म पुर्याएको प्रत्यक्षदर्शी विद्यार्थी नेता उप्रेतीले बताए । “होटलमा विद्यार्थी संगठनहरुको छलफल चलिरहेको थियो” उप्रेतीले भने, “खड्काले कार्टुनमा रहेको २०० डोज खोप काउन्टरमा राखेका हुन् ।”
खोप जस्तो गम्भीर विषय होटलमा लुकाउन ल्याएको भन्दै स्थानीयले बिर्तामोडका स्वास्थ्यकर्मीलाई कडा कारबाहीको माग गरेका छन् । खोपसहित कर्मचारी खड्कालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । “घटना के हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ” इलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी अधिकृतले भने ।
शुक्रबार बिर्तामोडको देवी मावि र महेन्द्ररत्न माविमा खोप लगाउने कार्यक्रम थियो । खोप लगाउन पाउने संघसंस्थाका कर्मचारी तथा ५५ वर्षमाथिका सयौं नगरबासी बिहानैदेखि दुवै खोप केन्द्रमा घन्टौं लाइनमा बसेका थिए ।
नगरपालिकाले खोप नभएको भन्दै लाइनमा बसेका उनीहरुलाई फर्काएको थियो । तर, दिउँसो ३ बजेतिर भने २०० डोज खोप स्वयम् बिर्तामोडका स्वास्थ्यकर्मीले होटलमा खोप पुर्याएपछि स्थानीय आक्रोशित बनेका छन् ।
Comments