Sajhamanch Archive

बुधबारदेखि सेवा छाड्ने बिपी प्रतिष्ठानका चिकित्सकहरूको चेतावनी 

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति सुधारका लागि ४६ दिनदेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि अस्पतालको सेवामा हाजिर नहुने चेतावनी दिएको छ । शुक्रबार सरोकारवालाहरूसँग जुम मिटिङ गरेर बुधबारभित्र पनि प्रतिष्ठानको समस्या समाधान नगरे प्रतिष्ठानका सेवामा हाजिर नहुने जानकारी गराएका हुन् ।

प्रतिष्ठानको समस्याका विषयमा प्रधानमन्त्रीको कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा जाँचबुझ समितिले अध्ययन गरेर फर्केको एक साता बितिसक्दा पनि निकासका लागि सरकारले कुनै कदम चालेको छैन । ‘शुक्रबार आन्दोलन गरेको ४६औँ दिन पुग्दा यहाँको समस्या सदनदेखि सडकसम्म पुग्यो, तर समाधानका लागि भने हालसम्म कतै पहलकदमी भएको छैन,’ केही दिनअघि संघीय संसदमा सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईले प्रतिष्ठानको समस्याबारे उठान गरे । यस्तै प्रदेश सभा सदस्य सावित्रा जोशीले पनि प्रदेश १ को सभामा उठान गरिन् ।

अखबारहरूमा यहाँका पदाधिकारीहरूको लापरबाही र यहाँको बेथितिबारे समाचार आइरहेका छन् । तर, सरकारले जीर्ण बन्न लागेको बिपी प्रतिष्ठानबारे हालसम्म बोल्न सकेको छैन । सरकार चुप लागेर बसेकै कारण आन्दोलनरत चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिँदै सुधार्न चेतावनी दिएका हुन् ।

शुक्रबार जुम मिटिङमार्फत नागरिक समाज, राजनीतिक दलका नेता, माननीय, पत्रकारलगायतलाई जानकारी गराएको संघर्ष समितिका संयोजक डा। एसपी रिमालले जानकारी दिए । मिटिङमा पूर्वस्वास्थ्यमन्त्री तथा संसदीय स्वास्थ्य परामर्श समितिका संयोजक खगराज अधिकारी, महिला अधिकारकर्मी सरु जोशी श्रेष्ठ, प्रदेश सांसद सावित्री श्रेष्ठ, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिष्ठानमा ४६औँ दिन आन्दोलन हुँदासम्म संघीय सरकारका मन्त्री, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य क्षेत्र हेर्ने उषाकला राई कोही पनि फर्केर नआएको विद्यार्थी कल्याण समाजका उपाध्यक्ष पदम नेपालीले गुनासोसमेत गरे ।

बुधबारदेखि प्रतिष्ठानको सेवा ठप्प पार्ने विषयमा सुनाउन नेपाली कांग्रेसका  युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, धरान क्षेत्रका सांसद भीम आचार्य, मीन विश्वकर्मा, डा। बाबुराम भट्टराई, उमिता बराइलीलगायतलाई आमन्त्रण गरिए पनि उपस्थिति जनाएनन् । ७२ घन्टे अल्टिमेटमको जानकारी तथा खबरदारीका लागि शनिबार साँझ बृहत् र्‍यालीको आयोजना गरिएको संघर्ष समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *