सात बुँदे सहमति पछि बिर्तामोड नगरपालिकामा लगाइएको ताला खुल्यो
Published:
by .बिर्तामोड । सत्तारुढ नेपाली कांग्रेसका तरुण–विद्यार्थी र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शनिबार बिर्तामोड नगरपालिकाको मूल गेटमा लगाएको ताला ७ बुँदे सहमति पछि आज खोलिएको छ ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा इलाका प्रहरी कार्यालय अनारमनीको संयोजनमा बसेको सर्वपक्षीय बैठकले १०३ भायल भेरोसिल खोपसहित शंकास्पद अवस्थामा होटलमा भेटिएका नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खड्कालाई तत्काल काममा नफर्काउन नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ ।
सर्वपक्षीय बैठकको निर्णय बारे नगरपालिकाका नासु मेघराज बाँस्तोले बताएअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई निश्पक्ष छानविनका लागि सहयोग गर्ने, अब उप्रान्त खोप ब्यवस्थापन गर्दा सर्वदलीय संयन्त्रमार्फत् गर्ने, अब उप्रान्त तोकिएको उमेर समूह तथा पेशा व्यवसायका मानिसलाई मात्र खोप लगाउने, नगरपालिकामा हालसम्म प्राप्त कोरोना विरुद्धको खोप संख्या तथा खोप लगाएको तथ्याङ्क सार्वजनिक गर्ने आदि निर्णय गरिएको छ ।
प्रदेश सांसद एकराज कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसहित वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका नगरस्तरीय नेताहरु, नगरपालिकामा तालाबन्दी गर्ने नेविसंघ, अखिल क्रान्तिकारी तथा तरुण दलका प्रतिनिधिहरु तथा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपीसहित अधिकृतहरु बीचको छलफल पछि उक्त निर्णय गरिएको नासु बाँस्तोलाले बताए ।
Comments