Sajhamanch Archive

एनएमसी डेरी उद्योग र श्याम मिश्रको अपील

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by .

‘‘एनएमसीले मेरो दिनुपर्ने पारिश्रमिक दिन किन ढिलाई गरेको हो ? अब त ब्याज पनि दावी गर्नुपर्ने भो । यो सामाजिक सञ्जाल मार्फत सबै एनएमसी पदाधिकारी एवम् सदस्यज्यूहरुलाई मेरो अनुरोधः तपाईंको निरङ्कुश (कसैले अङ्कुश लगाउन नसक्ने) आजीवन अध्यक्षलाई श्याम मिश्र बारे एउटा प्रश्न गर्न सक्नु हुन्छ ? एनएमसी डेरी शुरु हुनुभन्दा अघि श्याम मिश्र कहाँ के गर्दै थियो ? कसरी के शर्तमा एनएमसी डेरीमा आयो ? यदि उ नआएको भए डेरी कसरी अगाडि बढ्थ्यो ? उ आउँदा एनएमसीलाई कति नाफा भयो र कति घाटा भयो ? उसलाई डेरी विज्ञ एनएमसीले बनाई दिएको हो ? र, उ किन के कारणले छाडेर गयो ? पारिश्रमिक पाउनु छ भन्छ । के यो साँचो हो ? अन्य कर्मचारीले पाउँने उसले चैं किन नपाउने ? बस यही प्रश्नको उत्तर तपाइँको अध्यक्ष एवम् उहाँको किचन क्याबिनेटबाट नआएकोले यहाँहरुलाई सोधेको हो । उत्तर नआएसम्म प्रश्न सोधिनै रहनेछु । यदि तपाईहरुले चाहानुहुन्छ भने उत्तर मसँग छ । उत्तर अलि महङ्गो छ । यदि मूल्य चुकाउने नै हो भने उत्तर आउँछ, त्यसको अलि बेला भएको छैन ।’’:  श्यामकुमार मिश्रले मेसेञ्जर ग्रुपमा पठाएको एउटा सन्देश ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित छ एनएमसी डेरी उद्योग । शुरुदेखि नै डेरी व्यवसाय समितिमा रहेर कार्यकारी प्रमुखको भूमिकामा श्यामकुमार मिश्र (श्याम सर) रहनु भएको थियो । उहाँले २०७१ साल चैत्रदेखि २०७५ सालको अन्तिमसम्म डेरी उद्योगमा डेरी विशेषज्ञको रुपमा काम गर्नु भएको हो । श्याम सरले डेरी छोडेर गएपछि एनएमसीसँग आफूले पैसा पाउन बाँकी रहेको भनेर पटकपटक मेसेञ्जर ग्रुपमा र फेसबुकमा समेत लेख्न थालेकाले वास्तविकता के हो भनेर प्रष्ट पार्न आवश्यक ठानेकोले यो लेखन गरिएको छ ।

          रामचन्द्र उप्रेती

श्याम मिश्र कसरी डेरी उद्योगमा आउनुभयो ?

एनएमसीले डेरी उद्योग सञ्चालन गर्ने निधो गरेपछि संस्थालाई यस बारेमा जानकार एवम् सम्बन्धित व्यक्तिको खोजी भयो । मेरो भेट श्याम सरसँग यसैक्रममा भयो । नारायण कोइराला, बिष्णु गौतम, ठाकुर सिवाकोटी र लक्ष्मी उप्रेतीले उहाँलाई पहिले नै चिन्नु हुँदोरहेछ । मैले पछिमात्र चिनें । पहिलो भेट धरानमा भयो । श्याम सर डेरी उद्योगमा आउन राजी हुनुभयो, हामी ल्याउन । डेरी उद्योगमा २०७१ साल चैत्रदेखि काम गर्न शुरु गर्नुभयो । त्यो समयमा उहाँ केन्द्रीय प्रविधि क्याम्पस (Central Campus of Technology) धरान—१४ हात्तीसारमा कार्यरत हुनुहुन्थ्यो । उहाँको अझै २ वर्ष त्यहाँ काम गर्दामात्रै उपदान वा पेन्सनका लागि सहज हुने अवस्था थियो । उहाँको सो सहजताका लागि डेरी समितिमा बसेर कार्यकारी प्रमुख भएर काम गर्ने तर सुविधाका लागि डेरीमा हाजिर गर्नु नपर्ने सहमति गरियो । डेरीको काममा बाधा नपुर्याई क्याम्पसको जागिरलाई निरन्तरता दिने सहमति भयो । उहाँ त्यही अनुरुप आवश्यकता अनुसार मिलाएर क्याम्पस (धरान) आउजाउ गर्नुहुन्थ्यो ।

एनएमसीको २०७२ साल वैशाखको निर्णय अनुसार २०७१ चैत्रबाट लागू हुने गरी मासिक ४० हजार रुपैयाँ पारिश्रमिक पाउने निर्णय भयो । यसका अतिरिक्त उहाँलाई डेरी उद्योगकै भवनमा फुलफर्निस्ड आवास, खाना खाजा, सञ्चार, यातायात (मोटरसाइकल) र त्यसमा लाग्ने इन्धनको सुविधा दिने निश्चित गरियो । २०७३ सालको असारमा उहाँले आफ्नो पारिश्रमिक बढाइदिन अनुरोध गर्नुभयो । श्रावणदेखि लागूहुने गरी मासिक ५० हजार रुपैयाँ दिने निर्णय भयो । २०७४ असारसम्म उहाँले यो सुविधा पाउनु भयो ।

२०७४ असारमा फेरि तलब सुविधा बढाउन माग गर्नुभयो । मैले धरान छाडें, मलाई एकलाख पुर्याउनु पर्छ, नत्र मेरो खर्च नै चल्दैन भन्नु भयो । सञ्चालक समितिको बैठकमा उहाँको प्रस्ताव राखियो र ५० हजार तलबलाई यथावत कायम राखेर श्रावणदेखि लागू हुनेगरी मासिक ३५ हजार अतिरिक्त समय काम गरेवापत भनेर भत्ता थपिदिने निर्णय भयो । यसका अतिरिक्त विगतमा पाउँदै आएका अरु सबै सुविधा यथावत रहने भन्ने निर्णय भयो ।

डेरी उद्योग स्थापना गर्न र डेरीलाई शुरुका दिनमा सञ्चालन गर्न उहाँको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्न चाहान्छु । विशेषगरी २०७४ साल फागुन–चैतदेखि डेरी उद्योगमा आन्तरिक र बाहिरी समस्याहरु बढेर गएका थिए । बाहिरी समस्यामा देशभरिनै दूृधको उत्पादन खपतभन्दा बढी भएर मिल्क होलिडे गर्नुपर्ने अवस्था थियो । त्यो समयमा हाम्रो डेरी उद्योगमा दैनिक १० हजार लिटर दूध संकलन हुने र ८ हजार जतिको बजारमा खपत हुने अवस्था थियो । यसलाई जसोतसो धानिँदै थियो । तर चैत लागेपछि उद्योगमा दूध आउने क्रम अस्वाभाविक बढ्न थाल्यो । अरुले दूध लिन कम गरेपछि त्यो दूध हामीतिर आउन थालेको थियो ।

त्यो समयमा दैनिक २२ हजार लिटरसम्म दूध आएको तथ्याङ्क हामीसँग छ । बजारमा खपत घटेर ६ हजार लिटरमा झरेको थियो । बढी भएको दूध पोखरा, चितवन, काठमाडौसम्म पठाएर प्रतिलिटर ४–५ रुपैयाँसम्म घाटा खाएर भए पनि बिक्री गरियो । मिल्क होलिडे गर्न नपरोस् भन्नेमा हामी थियौं । चितवन र पोखरामा पठाएर पाउडरमा कन्भर्सन गर्ने अधिक प्रयास भयो । जति प्रयास गरे पनि दूध सबै खपत हुन सकेन । एकपटक त ९ हजार लिटर दूध चितवन र हेटौंडा पुर्याएर पनि सल्ट्याउन नसकेपछि फिर्ता गरी क्रिम काटेर नष्ट गर्नु परेको थियो ।

दूधको स्टक धेरै हुन थालेपछि गुणस्तरमा असर परेको थियो । बजारमा हाम्रा उत्पादनमा उपभोक्ता र सदस्यको प्रसस्तै गुनासो आउन थालेको थियो । दूधको भुक्तानी किसानलाई १५/१५ दिनमा गर्ने गरेकोमा आर्थिक संकट बढेकाले किसानको भुक्तानी तालिका बिग्रेको थियो । किसान र चिस्यान केन्द्रले भुक्तानीका लागि लामै समय पर्खनु परेको थियो ।

डेरी उद्योग सञ्चालन गर्न सानो समिति बनाइएको थियो । मेरो संयोजकत्वमा संस्थाका तत्कालिन सञ्चालक सदस्य (हालका वरिष्ठ उपाध्यक्ष) नारायणप्रसाद कोइराला र श्याम सर सदस्य हुनुहुन्थ्यो । दैनिक प्रशासन सञ्चालनको सम्पूर्ण जिम्मेवारी कार्यकारी प्रमुखको हैसियतमा श्याम सरले गर्ने गरी व्यवस्था मिलाइएको थियो । डेरी उद्योग सञ्चालनका लागि शुरुमा कुनै कार्यविधि थिएन । सञ्चालनको एक वर्षपछि २०७३ मा एउटा छोटो कार्यविधि बनाइएको थियो । कार्यविधिमा धेरै कुरा प्रष्ट थिएन । किनकि डेरी उद्योग हाम्रा लागि नयाँ व्यवसाय भएको र यसमा कस्तो खालको नीति चाहिन्छ भन्नेमा कुनै अनुभव नभएकाले कार्यविधि संक्षिप्त र लचिलो थियो । डेरीमा आउने हरेक समस्याका बारेमा हामी तीनजनामा छलफल गरेर अगाडि बढ्थ्यौं । भेट नहुँदा फोन गरेर सहमतिमा काम गथ्र्यौं ।

डेरी उद्योग शुरु भएको पहिलो वर्ष, दोश्रो वर्ष समस्या आउँछन्, नयाँ काम हो सिकिन्छ भन्ने रह्यो । तेस्रो, चौथो वर्षमा पुगेपछि सहज हुन्छ, अनुभव थपिन्छ भनेर समस्यासँग जुझ्दै अगाडि बढिरहेका थियौं । तर तेस्रो वर्षमा देखिएको समस्याले हामीलाई अत्याएको थियो । सञ्चालक समितिको सबै बैठकमा श्याम सरलाई पनि आमन्त्रित गरेर डेरीका बारेमा हामी सबैले बोर्डलाई रिपोर्टिङ गथ्यौं । सञ्चालकहरुका धेरै जिज्ञासा हुन्थे, यो स्वाभाविक थियो । बजारमा अनेक कुरा सुनिन्थे । त्यसको सामना सञ्चालकले पनि गर्नुपर्ने हुँदा सञ्चालक र शुभचिन्तकको जिज्ञासा हुनु स्वाभाविक थियो ।

संस्थाले शुरुमा ५/६ करोड रुपैयाँ लगानी गर्ने मनस्थिति बनाएकोमा बढेर १४/१५ करोड रुपैयाँ पुगेको थियो । डेरी उद्योगमा लगातार घाटा भइरहे उद्योगलाई निरन्तरता दिन सम्भव थिएन । कतै डेरी उद्योगकै कारण एनएमसी संस्था नै अप्ठ्यारोमा पर्ने हो कि भन्ने चिन्ता सञ्चालक, लेखा समिति र एनएमसी परिवारलाई थियो । सबैलाई आश्वस्त पार्र्दै चाहिने रकम सञ्चालक समितिबाट पास गराएर लगानी थप्दै लानु सजिलो थिएन । हामी डेरी समितिमा रहेका तीनजना (म, नारायण सर र श्याम सर) ले एनएमसी परिवारको भरोसा टुटन दिएनौं । अप्ठ्यारोमा पनि हामीलाई सजग गराउँदै सबैले साथ सहयोग दिइरहनु भयो ।

उद्योग सञ्चालनको तेस्रो वर्ष २०७४/७५ को चैत्र–असारमा डेरीमा देखिएको समस्या समाधान गर्न श्याम सरले जति चिन्ता र चासो दिनुपर्ने हो त्यो देखिएन । यो समस्या एकाएक आएको नभई क्रमशः बढ्दै गएको थियो । उहाँले डेरीको कामका अतिरिक्त डेरी बाहिर हुने विभिन्न तालिम र कार्यक्रममा बढी चासो राख्ने गरेको पायौं । उहाँलाई डेरीको काममा केन्द्रित गर्ने प्रयास गर्दा मलाई डेरीमा सिमित गरियो भनेर गुनासो गर्न थाल्नुभयो ।

यता डेरी उद्योगमा बढेको समस्याले म, नारायण सर र केही कर्मचारीलाई पोल्न थाल्यो । उद्योगमा तत्काल सुधारको खाँचो देखियो । सबैभन्दा पहिला डेरीका उत्पादनको गुणस्तरमा सुधार गरेर बजारमा खस्केको साख उठाउनु थियो । यसका लागि श्याम सरसँग नारायण कोइराला र मैले पटकपटक छलफल गर्यौं । उहाँले गुणस्तर राम्रो छ, हाम्रैले नराम्रो भने पछि अरुले त भनिहाल्छन् नि भन्नुृ भयो । तपाईंहरुले भनेजस्तो होइन भन्न कहिल्यै छाड्नु भएन । हामीले दूृधको संकलन घटाउन, मिल्क होलिडे गर्न पटकपटक अनुरोध गर्यौं । उहाँले यसलाई गम्भिररुपमा लिनु भएन ।

केही नलागे पछि किसान र चिस्यान केन्द्रका मानिसलाई बोलाएर उद्योगलाई निरन्तर सञ्चालन गर्न तत्काल मिल्क होलिडे गर्नु परेको बाध्यता सुनायौं । श्याम सरलाई यो निर्णय मन परेन । उहाँको भनाई हुने गथ्र्यो एनएमसीले नाफा खोज्ने र घाटा भयो भनेर मिल्क होलिडे गर्नु हुँदैन । श्याम सरको मनसाय ठिक थियो होला तर उद्योगमा बिग्रिँदै गएको अवस्थामा सुधार गरेर निरन्तर डेरी सञ्चालनमा आउँदा मात्रै किसानको दिगो हित हुन्छ भन्ने कुरा बुझ्न सक्नु भएन, बुझाउन सकिएन ।

डेरी उद्योग सञ्चालनको क्रममा २०७४ असार मसान्तसम्ममा तीन करोड भन्दा बढी नोक्सान भएको थियो । तर, अथक मेहनतका कारण साउनदेखि केही सकारात्मक संकेत देखिँदा हामी सबै खुसी भएका थियौं । यो समयमा उद्योगले मासिक सञ्चालन खर्च धान्न थालेको थियो । अब ब्याज नबोके पनि ह्रास कट्टी खर्चमा सघाउ पुग्छ भन्ने अवस्था विकास हुँदै थियो । तर चैतबाट शुरु भएको समस्याले एकदमै चिन्तित बनायो ।

हाम्रा अगाडि जसरी पनि डेरी उद्योगलाई बचाउने र निरन्तर सञ्चालन गर्नै पर्र्ने चुनौति थियो । डेरी उद्योग सफल हुन नसकेमा एनएमसीले गर्ने भनिएका अरु नयाँनयाँ कार्यक्रम, व्यवसायमा ब्रेक लाग्न सक्थ्यो । मानिसको मन जित्न सजिलो छैन । करोडौ रकम खन्याउँदै जाने तर परिणाम सकारात्मक नहुने, निरन्तर घाटामात्र हुने हो भने अरु नयाँ व्यवसायका लागि कसैले आँट गर्न र बोर्डको अनुमति पाउन सकिने अवस्था नै रहँदैनथ्यो । डेरी असफल हुँदा एनएमसीको लगानी मात्रै डुब्ने होइन कि उद्योगमा कार्यरत ७० जनाको रोजगारी र हजारौं किसानको सुरक्षित बजार डुब्थ्यो । हामी माथिको भरोसा र विश्वास टुट्थ्यो । एनएमसीको नयाँ नयाँ व्यवसाय गर्ने सपनासमेत सँगसँगै डुब्थ्यो ।

डेरी उद्योगमा कहाँकहाँ समस्या छ, कहाँकहाँ अतिरिक्त खर्च वा चुहावट भइरहेको छ भनेर मसिनो गरी हेर्ने काम शुरु गरियो । श्याम सरलाई यो समस्या गम्भिर छ भन्दा उहाँले खासै चासो नदिएपछि नारायण सर र म भएर त्यहाँ भएका अरु कर्मचारीको सहयोगमा रिपोर्ट लिने गर्न थाल्यौं । खरिद गरिएको दूधको स्टक झण्डै ८ हजार लिटरजति कम थियो । ढुवानीका साधन र जेनेटरमा डिजलको खपत अस्वाभाविक बढी देखियो । दूध कन्भर्सनमा पठाएर चितवन डेरीबाट ल्याएको नौनी घिउको गुणस्तर बिग्रेको अवस्थामा भेटियो । १०० लिटर दूधबाट १० केजीमात्रै पनिर बन्ने गरेको थियो । अरु डेरीले १४ केजीसम्म पनिर बनाएको र बन्छ भन्छन् तर हाम्रोमा १० केजीभन्दा बढी कहिल्यै बनेन । १२ केजी पनिर बनाउँदा सावाँ उठ्थ्यो । श्याम सरसँग यसबारेमा धेरै कुरा गरियो तर कुनै सुधार भएन ।

श्याम सर अनुपस्थित (काठमाडौ) गएको समय पारेर अरु प्राविधिक ल्याएर समस्या समाधान गरियो । स्टोरमा टुटेफुटेका कपको डङ्गुर थियो । यो सबै सम्पतिमा देखिएको थियो तर फुटेका कप काम लाग्ने अवस्थामा थिएनन् । बजारमा बाँकी बढ्दै गएको थियो तर उठाउने बारेमा खासै चासो देखाउनु भएन । यी केही नमूना हुन् । यी र यस्ता समस्या अरु पनि थिए । यसले समस्या बढाउँदै लगेकोले समस्या समाधानका लागि कि त कठोर कदम चाल्नु पथ्र्यो कि त उद्योग बन्द हुने दिनको प्रतिक्षा गर्नु पथ्र्याे ।

डिजेलको खपत अस्वाभाविक देखिएपछि खोजी गर्दा पेट्रोल पम्प र केही ड्राइभरको संलग्नता पत्ता लाग्यो । कारवाही गर्न अनुरोध गर्दा म बुझ्दैछु भन्नुभयो तर एक्सनमा जानुभएन । दूधको स्टक नमिलेको कुरा उहाँले भन्नु भएन । तर दूध रिसिभ गर्ने ठाउँबाट यो समस्या अवगत गराएको रहेछ । सुनवाई नभएपछि हामीलाई भनियो यसबारेमा सोधीखोजी गर्दा कहाँ सबै दूध नापेर सकिन्छ भनेर बैठकमा जवाफ दिनुभयो । यसको समाधान गर्न म, नारायण सर र नवराज लाग्यौं । सबै भ्याटमा पुगेर दूध नाप्ने काठका मिटरको व्यवस्था गर्यौं । ड्राइभरलाई सिकायौं र निगरानी बढाएर समस्या समाधान गर्यौं ।

चितवन डेरीबाट दूध कन्भर्सन गरेर आएको नौनी घिउको फ्याट ७० प्रतिशत मात्रै भएको कुरा ल्यावले रिपोर्ट दिएको रहेछ । त्यो बारेमा हामीलाई कुनै जानकारी गराइएन । न्यूनतम ८० प्रतिशत हुनुपर्ने रहेछ । हामीले उत्पादन गरेको नौनी ८५ प्रतिशतभन्दा माथि हुने गरेको रहेछ । फ्याट कम भएको मात्रै होइन, नौनीको गुणस्तर पनि निकै खराब भएको कुरा अनलोडमा संलग्न अरु कर्मचारीले भने । घिउ एकदमै गन्हाउने थियो । नाक छोपेर अनलोड गर्यौं भने । यो कुरा समितिलाई नभन्नु भनेर श्याम सरको निर्देशन रहेछ । पछिमात्रै थाहा पायौं । यो नौनीको बारेमा कुरा गर्दा श्याम सरले कुनै ठोस जवाफ दिनु भएन ।

२०७४ सालको चैतदेखि नै डेरीले मासिक सञ्चालन खर्च उठाउन नसकेर घाटा भएको थियो । २०७५ को वैशाख, जेठ, असारमा खर्च कहाँकहाँ बढी भएको छ, कुनकुन खर्च घटाउन सकिन्छ भनेर मसिनो गरी अध्ययन गर्ने काम भयो । यी महिनामा क्लिनिङ मेटेरियलमा मासिक एक लाख जति खर्च भएको थियो । बैठकमा यसमा महिना मै यति खर्च भएको रहेछ भनेर जिज्ञासा राख्दा श्याम सरले एक वर्षको होला भन्नुभयो । यति खर्च भएको छ भन्ने श्याम सरलाई पनि पत्यार लागेन । मैले एक महिनाकै हो लाख जति खर्च छ भनें । उहाँले पत्याउनु भएन र बैठकबाट उठेर लेखा शाखामा जानुभयो । धेरैबेर पछि फर्कनुभयो । केही बोल्नु भएन । सोधें, खै अहिले त एक महिना कै देखियो तर म अझै हेर्छु भन्नुभयो ।

डेरीका कर्मचारीहरुले साप्ताहिक विदा चाहेका थिए । श्याम सरले डेरीमा काम गर्नेले विदा पाउँदैन भन्ने गर्नुहुन्थ्यो । विदा नपाए पनि साप्ताहिक विदाको पैसा डेरीले खर्च लेखेर दिने गरेको थियो । पैसाले मात्रै चित्त बुझाएका थिएनन् । कर्मचारी भन्ने गर्थे सरलाई विदा लिनै पर्दैन, हाजिरै गर्नुहुन्न, जहिले मन लाग्छ फुत्त निस्केर हिड्नु हुन्छ । हामीलाई त त्यसो गर्न मिलेन । हुन पनि श्याम सरको अवस्था यस्तै थियो । कर्मचारीहरुले पटकपटक भने, पालो मिलाएर काम गर्छौं, काम रोकिन दिँदैनौ । तर श्याम सर कर्मचारीको विदाप्रति सहमत हुनुभएन ।

बैठकमा कुरा उठायौं र साप्ताहिक विदा पालो मिलाएर दिन भन्यौं । यसो गर्दा कर्मचारी पनि खुसी हुने र डेरीको पनि मासिक ४० हजार जति व्ययभार कम हुन्थ्यो । श्याम सर यो भनाईमा सहमत हुनुभएन । नारायण सर र मैले नवराज अधिकारी (हालको डेरी व्यवसाय प्रमुख)–सँग सल्लाह गरेर साप्ताहिक विदा मिलाउन भन्यौं । प्रशासन तर्फकाले हप्तामा र उत्पादन एवम् मार्केटिङमा काम गर्नेले १५ मा एक दिन छुट्टी मिलाएर काम गर्न थाले । त्यसपछि मेरो अधिकार माथि पटकपटक हस्तक्षेप भयो भन्न थाल्नुभयो ।

डेरी उद्योगमा आव २०७५/०७६ मा कर्मचारीको तलबमा बृद्धि गर्नुपर्ने थियो तर डेरीमा सङ्कट बढेकाले तलब बढाउन सकिएन । यसको बदलामा डेरीमा हुने चुहावट र लापरवाही रोक्नका लागि सबै कर्मचारीलाई जिम्मेवार बनाउन मासिक सञ्चालन खर्च कटाएर बचेको पैसा (मासिक नाफाबाट १० प्रतिशत रकम) डेरीमा कार्यरत कर्मचारीहरुलाई समानरुपमा दिने नीति ल्याइयो र कार्यन्वयनमा लगियो । यो कुरामा श्याम सरको सहमति थिएन । उहाँ प्रोत्साहन रकम सबैले बराबर पाउने कुरामा सहमत हुनु भएन । केही महिना यो रकम लिनु भएन तर पछि लिन थाल्नु भएको थियो ।

२०७५ को असारसम्म पुग्दा डेरी उद्योगमा चुलिएको समस्या समाधान गर्न र डेरीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न डेरीमा भएको कार्यविधिलाई परिमार्जन गर्न आवश्यकता देखियो । कार्यविधिको अभावमा श्याम सरले मनलागी गरेका कामलाई अनुमोदन गर्नमात्रै समिति बसेजस्तो भयो । त्यसैले असारमा कार्यविधि परिमार्जन गरियो । यसमा कार्यकारी प्रमुखदेखि सुरक्षा गार्डसम्मको काम कर्तव्य, अधिकार, सेवा सुविधा आदि तोकिएको छ । यो कार्यविधि बनाउँदा उहाँको कुनै सक्रियता थिएन । यद्यपि डेरी समितिले पास गरेर पठाएको यो कार्यविधि सञ्चालक समिति हुँदै साधारणसभाले पास गर्नुपथ्र्यो । गर्यो र लागू भयो ।

तर श्याम सरले यो कार्यविधिको स्वामित्व लिन र कार्यान्वयन गर्न आलटाल गर्नुभयो, मान्नु भएन । नियमित बैठक डाक्न छाड्नु भयो । २०७५ साउनदेखि फागुनसम्ममा ५० दिन बढी डेरीमा अनुपस्थित हुनुभयो । हाजिर गर्न मान्नु भएन, विदा लिनु नपर्ने, कहाँ गएको समितिलाई थाहा नहुने, कसैलाई जानकारी गराउनु नपर्ने, कसैलाई सोध्नु नपर्ने अवस्था त्यो बेला पनि पहिलाजस्तै कायम रहन गयो ।

श्याम मिश्रको नियत खराब थिएन र छैन भन्नेमा म आज पनि ढुक्क छु । उहाँ बिल मिलाएर पैसा आफ्नो भागमा पार्ने सोच एवम् चरित्र भएको मानिस होइन । माथि उल्लेख गरिएका कमजोरी र उद्योगलाई भएको आर्थिक क्षतिका बारेमा उहाँको नियतको समस्या नभएर व्यवस्थापकीय कुशलताको कमी थियो भन्नेमा म प्रष्ट छु । उहाँ आफ्नो क्षेत्रमा उचाई प्राप्त व्यक्ति हुनुहोला तर एउटा कुशल व्यवस्थापक होइन । हामीले उहाँको जिम्मेवारी अनुसारको कुशल व्यवस्थापक बनाउन कोशिस त गर्यौं तर उहाँमा भएको दम्भ र एकोहोरोपनका कारण सफल हुन सकेनौं ।

२०७५ साल साउनबाट डेरी उद्योगका लागि नयाँ कार्यविधि लागू भएपछि उहाँको भूमिका एनएमसी डेरी उद्योगको प्रवन्ध निर्देशक, कर्मचारीको रुपमा परिभाषित गरिएको थियो । उहाँले यो भूमिका स्वीकार्न आनाकानी गर्नुभयो । हामीले पटकपटक श्याम सरसँग बसेर एनएमसीको नीतिमा कि समिति हुन्छ कि कर्मचारी । तपाईं समितिमा बसेर काम गर्न चाहाने हो भने त्यही अनुरुप व्यवस्था गर्छौं, सेवा सुविधा हुँदैन भन्यौं । तर उहाँलाई सेवासुविधा पनि सबै चाहिने र समितिको भूमिका पनि चाहिने कुरा गर्नुभयो । यो कुरा सहकारी ऐन २०७४ ले नै रोकेको छ भन्दा मान्नु भएन । यो खटपट चलिरह्यो ।

उद्योगमा समस्या देखिन थालेपछि नै व्यवस्थापनमा हामीले दैनिक चासो राख्यौं । उहाँ हुँदा र नहुँदा फरक नपर्ने अवस्था बन्दै गएको थियो । साउनदेखि अवस्थामा सुधार आउन थालेको थियो । यद्यपि उहाँ डेरीको प्रवन्ध निर्देशकको रुपमा नै कार्यरत हुनुहुन्थ्यो । दशैंमा भत्ता रकमको पनि दशैं पेश्की पाउनु पर्छ भन्नु भएछ । लेखाले मानेन । किनकि कार्यविधिले आधार तलबको मात्रै दशैं पेश्की दिने व्यवस्था गरेको छ । यसअघि उहाँले आदेश गरे बमोजिम भएको थियो । अब कार्यविधिले तोकको सुविधा मात्रै पाउने अवस्था बन्यो । डेरीको अवस्थामा सुधार हुन थालेपछि २०७५ को कात्तिकबाट कर्मचारीको सञ्चयकोष काट्न शुरु गरियो । उहाँले त्यसमा असहमति राख्नुभयो । म कर्मचारी होइन भन्नुभयो । यद्यपि लेखाले त्यो हिसाब राखिदिएको छ ।

लेखाबाट श्याम सरले आफू खुसी नै पेश्की लिइरहनु भएको थियो । त्यसमा हामीले कुनै आपत्ति गरेनौं । किनकी उहाँले पाउने रकम नै लिनु भएको छ भन्ने थियो । २०७५ चैत ३० मा उहाँले दुई महिना भित्रमा डेरी छाड्ने भनेर राजिनामा दिनुभयो । हामीले त्यो अवधि पर्खने निर्णय गर्यौं र २०७६ वैसाख १ गतेबाट उहाँको कार्यकारी भूमिकाको अन्त्य गर्दै सल्लाहकारको रुपमा रहने व्यवस्था गर्यौं । जेठ १९ गते उहाँले डेरी छाडेर काठमाडौ जानु भएको जानकारी पायौं ।

श्याम मिश्रले डेरी उद्योग छाडेर गएपछि पटकपटक सामाजिक सञ्जालको म्यासेञ्जर ग्रुपमा र पछि फेस बुकमा एनएमसी डेरीप्रति तितो पोख्न थाल्नुभयो । व्यक्तिगत रुपमा पनि म, नारायण कोइराला र केही कर्मचारी प्रति तिक्तता व्यक्त गर्नुभयो । डेरीले मेरो पारिश्रमिक दिन बाँकी छ, किन दिँदैन, मुद्दा हाल्छु आदि आदि । उहाँले सामाजिक सञ्जालमा लेखेका कुरा सबै सुरक्षित रहेको जानकारी गर्दछु । श्याम सरले ग्रुपमा लेखेका कुरा मैले सञ्चालक सदस्य र लेखा समितिका साथीहरुलाई तत्कालै शेयर गरेको छु ।

श्याम सरसँग डेरी उद्योगमा खटपट शुरु भएपछि संस्थाका जिम्मेवार व्यक्तिहरु म, नारायण सर, लक्ष्मी उप्रेती, ठाकुर सिवाकोटी, बिष्णु गौतमसहित भएर एक्लाएक्लै र संयुक्तरुपमा हामीले पटकपटक कुरा गरेका छौं । उहाँको विषयमा बोर्ड बैठकमा धेरै कुरा जानकारी गराइएको छ । ग्रुपमा मात्रै कुरा गरुञ्जेल यसलाई आक्रोस र कुण्ठा ठानेर सह्यौं । तर जब फेसबुकमा आवाज उठाउनु भयो अब सत्यतथ्य सार्वजनिक गर्नैपर्ने भयो । एनएमसी परिवारका धेरै मित्रहरुले यसबारेमा जिज्ञासा राख्नु भएको छ । सरोकार राख्ने सबैलाई जानकारी दिन आवश्यक ठानेर नै आज उहाँको सम्बन्धमा लेखिरहेको छु ।

जहाँसम्म श्याम सरले मैले पाउनु पर्ने हिसाब पाउँ भनेर पटकपटक दावी गर्नु भएको छ । यस बारेमा पहिला पनि आउनुहोस् बसेर हिसाब हेरौं भनेको हो । मेरो आउने भाडा छैन भन्दा दोहोरो प्लेन खर्च नै दिन्छौं भनेर नारायण सरले भनेको अवस्था हो । तर उहाँ आउनु भएन । मेरो जानकारीमा रहेसम्म डेरीको लेखाले संस्थाको नीति अनुसार तयार पारेर श्याम सरबाटै स्वीकृत गराएर तलब भत्ता भुक्तानी दिने व्यवस्था थियो । आफैंले पास गरेको लेखाले दिएको रिपोर्ट र सञ्चालक समितिले दिएको र दिने भनेको सेवा सुविधामा सरकारले तोकेको कर कट्टी काटेर पाउनु वा दिनु जे हुन्छ त्यो हिसाब दोहोर्याएर गर्न, हेर्न हाम्रो संस्था एनएमसी तयार छ । म पनि सहजीकरण गर्न सधै तयार छु । तर सामाजिक सञ्जालमा एकपक्षीय गाली गरेर आफैंलाई पो होचो बनाउँदै हुनुहुन्छ कि श्याम सर !

(लेखक अध्यक्ष रहेको एनएमसीको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी र सो का पूर्व अधिकृतबीचको कुराकानी भएकाले यो आलेखमा कुनै सम्पादकीय परिमार्जन गरिएको छैनः –सम्पादक)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *