अनलाइन कक्षा होस् वा कोरोना खोप, शिक्षामा जताततै विभेद
Published:
by .झापा । कोरोनाको कहरले शिक्षामा समानताको नारालाई खल्बल्याई दिएको पाइएकोे छ । सरकारी र निजी विद्यालयमा पढ्ने विद्यार्थीले पहिलेदेखि नै असमानता भोगिरहेका थिए । तर पछिल्लो समयमा ग्रामीण र सहरी भेगका विद्यार्थीमा पनि विभेद छ । हुँदाहुँदा संस्थागत विद्यालयका शिक्षकलाई स्वास्थ्य सेवामा समेत स्थानीय सरकारले विभेद गरेको छ । यो विभेद र असमानताप्रति सिङ्गो समाज क्षुब्द बन्दै गएको अवस्था घटनाहरुले पुष्टि गरिसकेका छन् ।
विश्वभर कोभिड–१९ को महामारी निरन्तर फैलिइरहेको छ । सन् २०१९ को अन्त्यसँगै चीनको वुहानबाट देखापरेको कोरोना भाइरसले विश्वभर ठूलो मानवीयसँगै आर्थिक क्षति पुर्याएको छ । मानिसलाई घरभित्रै थुनेर राख्ने अदृश्य भाइरसले शिक्षा क्षेत्रलाई झन् तहसनहस बनाएको छ । यसबाट नेपालजस्तो अविकसित देशमा शिक्षामा समानताको संविधान प्रदत्त अधिकार उपभोगमा पनि विभेद उत्पन्न भएको दृष्टान्तहरुले देखाएका छन् ।
कोरोना भाइरस संक्रमणको त्रासले २०७६ चैत ६ गतेदेखि देशभरका शिक्षण संस्थाहरु सरकारले बन्द गर्न निर्देशन गरेपछि सुरु भएको श्रृङ्खला अझै कति वर्ष पर पुग्ने हो थाहा छैन । विद्यालय क्षेत्र विशेषगरी बालबालिकाको सुरक्षाका लागि पठनपाठन स्थगन गरिएको हो । तर शैक्षिक क्यालेण्डर पछ्याउन इन्टरनेटमा आधिारित विभिन्न एप्सहरुको प्रयोगमा अहिले कक्षाहरु सञ्चालन भइरहेका छन् । उखानै छ, ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’, ठ्याक्कै त्यस्तै भएको छ अनलाईन कक्षा सञ्चालन ।
बिर्तामोड नगरपालिका वडा नं. १ मा रहेको मनकामना माविका प्रिन्सिपल केशव ढुंगाना गतवर्षको कक्षा उत्तीर्ण गरेका ३० प्रतिशत हाराहारी विद्यार्थी सम्पर्कमा नै नआएको बताउँछन् । असारबाट नयाँ शैक्षिक सत्र सुरु भएपनि हालसम्म यतिका विद्यार्थी अनलाइनमा उपस्थित छैनन् । अभिभावकलाई फोन गरेर अनलाइन कक्षामा बसाउन आग्रह गर्दा आफूहरुसँग इन्टरनेट चलाउन मिल्ने मोवाइल नभएकोले समस्या भएको जानकारी दिन्छन् र स्कूल लागेपछि नियमित पठाउने बचन दिने गरेको प्रिन्सिपल ढुंगाना सुनाउँछन् ।
योसँगै गुणस्तरीय इन्टरनेट सेवाको पहुँचमा विद्यार्थी तथा शिक्षकको पहुँच नहुँदा वा पुर्याउन नसक्दा सबैले पढ्न पाएका छैनन् । सहरी भूगोलमा जहाँ टेलिफोनको टावर छ, नेटवर्क राम्ररी लाग्छ त्यहाँ इन्टरनेट पनि चलिरहेको हुन्छ । सहरमा केवल मार्फत् पनि घरघरमा इन्टरनेट सेवा पनि पुर्याइएको हुन्छ । यस्तो ठाउँका अभिभावकको विपन्नताले बालबालिका शिक्षाबाट बञ्चित हुनपरेको प्रिन्सिपल ढुंगानाको भनाईबाट पुष्टि हुन्छ ।
यद्यपी शहरी क्षेत्रका सामुदायिक र संस्थागत दुवैतर्फका बालबालिकाले अनलाइन कक्षाका बारेमा सुनेका छन् । धेरैजसोले पढिरहेका छन् । कतिपय विपन्न परिवारका बालबालिकाले सहरमा नै पनि यो सुविधा लिन सकेका छैनन् । न एन्ड्रोइड भर्सनको मोवाइल, न इन्टरनेट चलाउन डाटा किन्ने पैसा, न त कम्प्युटर र ल्यापटपको सुविधा नै ! यस्तो स्थितिबाट शहरमा नै पनि धेरै बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित छन्, मनकामना माविका भाइस–प्रिन्सिपल ध्रुव गौतम प्रष्ट्याउँछन् ।
तर कतिपय अभिभावक चाहिँ इन्टरनेटको सुविधा हुँदाहुँदै अनलाइनबाट गरिएको कक्षाप्रति रुचि नराखेर विद्यालय नपठाउने गरिएको पनि अवस्था छ । नाम नछाप्ने शर्तमा अर्जुनधारा ९ कालिस्थानकी एक अभिभावक भन्छिन्, ‘अनलाइन क्लास भन्यो, बच्चाको छेउमा आफैंले बसेर सबै सिकाइदिनु पर्छ । बाहिरफेर काम गर्न नपाएपछि आफ्नो दैनिक आम्दानी पनि मर्छ अनि फेरि स्कूललाई भनेजत्ति फिस तिर्नुपर्ने ! बरु किताब ल्याएर घरमा नै बिहान बेलुका पढाउँछु र स्कूल लागेपछि मात्रै पठाउँछु भन्ने सोचमा छु ।’
संस्थागत विद्यालयभित्रका अनेकन अप्ठ्याराहरुबीच अनलाइन क्लास जेनतेन चलाइएको पाइन्छ । तर सामुदायिकमा यो भन्दा भिन्नै पीडा भेटिन्छ । झापाको लक्ष्मीपुरमा अवस्थित श्री समाजसेवी आधारभूत विद्यालयका प्रधानाध्यापक सीता अधिकारी भन्छिन्ः ‘सबै विद्यार्थीको घरमा इन्टरनेटको पहुँच नभएका कारणले कक्षा सञ्चालन भएको छैन । आफूसहित सबै शिक्षकहरु दिनहुँ विद्यालय आउने र हाजिरी गरेर १ बजेसम्म विद्यालयमै बिताएर फर्किने भन्दा अरु केही गर्न सकेका छैनौं । विपन्न परिवारका विद्यार्थीहरु रहेकाले अभिभावकलाई इन्टरनेटको पहुँचमा बच्चालाई ल्याउनुस् भन्नसक्ने अवस्था पनि हामीसँग छैन ।’
ग्रामीण भेग अझ पहाडी भूगोलमा रहेका सामुदायिक विद्यालयमा इन्टरनेटकोमात्र असुविधा होइन, असारमा सुरु भएको शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक बालबालिकाको हातमा अझै पुर्याउन पनि सकेको छैन । इलामको सन्दकपुर गाउँपालिकामा रहेको श्याम्बल माद्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण दाहाल भन्छन्ः शहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि दुर्गम गाउँघरका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । बर्खायाम भएकाले धेरै ठाउँमा बाटो अवरुद्ध भएकाले दुर्गममा पुस्तक ढुवानीका लागि समस्या भएको हो । इन्टरनेटको असुविधा भए पनि पाठ्यपुस्तक भइदिएमा विद्यार्थीले केही राहत महसुस गर्थे कि !
दुर्गम होस् वा सुगम शहरी भेगमा बस्ने विद्यार्थीले अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन् । तर इन्टरनेटको सुविधा नभएका शहर वा मोवाइल फोनको राम्रो सिग्नल नआउने गाउँघरमा भने पढाई हुन सकेको छैन । गाउँघरमा फोनमा राम्रो नेटर्वक नटिप्ने भएका कारण इन्टरनेट कनेक्सन नहुँदा अनलाइन कक्षा सञ्चालन नभएको हो । यसबाट बालबालिकाको भविष्य अन्धकार हुने एक किसिमको डर पैदा भइसकेको इलाम ५ धारापानीका सिता बजगाईं चिन्ता ब्यक्त गर्छिन् ।
यतिमात्र होइन, स्थानीय सरकारले संस्थागत विद्यालयका शिक्षक कर्मचारीमाथि अर्को अक्षम्य विभेद पनि गरिरहेको छ । कोभिड–१९ विरुद्धको खोपमा निजी विद्यालयका शिक्षक कर्मचारीहरु माथि विभेद गरिएको हो । झापाका धेरैजसो स्थानीय सरकारले कोरोना खोपमा संस्थागत शिक्षण संस्थाका कर्मचारीलाई कोटा तोकेर अवसरबाट बञ्चित गरेको पाइएको हो । कोरोना विरुद्धको खोपमा सबै नागरिकहरुलाई समानताको अधिकार नदिइनुले दुखद् सन्देश प्रवाह भएको छ ।
सरकारी र संस्थागत शिक्षण संस्थाका शिक्षकलाई अलग अलग दिन खोप लगाउने भनी मिति तय गरिनु र संस्थागतका शिक्षकलाई कोटा तोकर असमान व्यहार गर्नुले धेरैको चित्त दुखाएको छ । ‘साउन १५ गते दिनभर महेन्द्ररत्न मावि बिर्ताबजारको प्राङ्गणमा तातोघाममा उभिनु परेको तर खोप लगाउन नपाई घर फर्काउनुले पनि संस्थागत शिक्षण संस्थाका शिक्षक कर्मचारीमाथि खोपमा विभेद भएको देखाउँछ’ प्याब्सन बिर्तामोड नगरसमितिका सचिव सुरेन्द्र खरेल दुखेसो ब्यक्त गर्छन् । सरकारी विद्यालयका शिक्षक कर्मचारीहरु सबैलाई खोपमा प्राथमिकतामा राख्ने तर संस्थागतका कर्मचारीहरु खोपमा गरिएको विभेदले अन्योल र्सिजना भएको उनको दुखेसो छ ।
कोरोनाको जोखिम तीब्ररुपमा फैलिएपछि बालबालिकाको सिकाइमा समस्या भएको अभिभावकहरु पनि बताउँदै आएका छन् । आफ्ना बच्चाहरुलाई अनलाइन कक्षामा सहजीकरण गर्दै आएकी बितामोड ५ की अनिता बराललाई फिजिकल र भर्चुअल कक्षा कुन राम्रो भनी जिज्ञासा राख्दा उनले फिजिकल क्लास नै उपयुक्त रहेको जनाउँछिन् ।
कोरोना सुरु हुनअघिको बच्चाको सिकाइ बुझाईको स्तर र अहिलेको सिकाईस्तरमा निकै फरक रहेको उनको भनाई छ । विद्यालयमा नै बच्चाहरुले ध्यान दिएर पढ्ने गरेको र अहिले घरमा अनलाइन कक्षा लिँदा पढ्नै नमान्ने बराल बताउँछिन् । बालबच्चाहरु पनि घरमाभन्दा विद्यालयमा नै गएर पढ्ने वातावरण सिर्जना चाँडै होस् भन्ने चाहाना रहेको बरालको अपेक्षा छ ।
Comments