एनएमसीमा सेवा प्रवेश गर्न भौतिक उपस्थितिमा नै लिखित परीक्षा सञ्चालन
Published: (Updated: )
by .झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्नो कार्यक्षेत्रमा सञ्चालित बैंकिङ व्यवसायका लागि आवश्यक कर्मचारी पदपूर्ति गर्न आज पाँच स्थानमा परीक्षा सम्पन्न गरेको छ ।
एनएमसी सेवा आयोगका सदस्य ठाकुरप्रसाद शिवाकोटीका अनुसार वरिष्ठ सहायक तृतिय र कार्यालय सहायक तृतिय पदका लागि अनलाइनबाट आवेदन गरेका १०१५ जनामध्ये ६५ प्रतिशत हाराहारी आवेदकहरु परीक्षामा सहभागी भएका छन् ।
संस्थाको कार्यक्षेत्र बिस्तार भएसँगै परीक्षा केन्द्र विकेन्द्रित गर्दै इलामको फिक्कल मावि र मोरङको उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा पनि परीक्षा सञ्चालन गरिएको छ । झापाको बिर्तामोडस्थित कोहेड कलेज, चारआलीस्थित त्रिदेव क्याम्पस र सुरुङ्गास्थित कनकाई क्याम्पसमा विगतमा पनि सेवा आयोगले परीक्षा सञ्चालन गरेको थियो ।
कोरोना संक्रमण द्रुत गतिमा बढिरहेको अवस्थामा एनएमसीले किन यसरी भौतिक उपस्थितिमा परीक्षा गराएको भन्ने साझामञ्चको जिज्ञासामा सेवा आयोग सदस्य शिवाकोटी भन्छन्, ‘नेपाल सरकारले विश्वविद्यालय तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा यही समयमा गराउन भनिसकेको अवस्थामा हामीले पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिन सक्छौं भन्ने निश्कर्षका साथ यो कार्य अघि बढाइएको हो ।’
सिटप्लान गर्दा परीक्षार्थीको भौतिक दूरीमा ध्यान दिइएको, मास्क अनिवार्य गरिएको, सेनिटाइजर संस्थाले नै व्यवस्था गरेको, निरीक्षकहरुलाई फेसशिल्डको ब्यवस्था गरेको तथा परीक्षा केन्द्र विकेन्द्रित गरेर सानो सानो संख्यामा परीक्षा सञ्चालन गरिएकोले तोकिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको शिवाकोटीको भनाई छ । कोभिड संक्रमित वा आशंकितहरुलाई अलग्गै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइएकाले सरकारी मापदण्डमा आफूहरु पूर्ण सचेत भएको उनले बताए ।
आज सञ्चालित परीक्षाको परिणाम एकसाता भित्रै निकाल्ने र अन्तरवार्ता गरिने त्रिदेव क्याम्पसका प्रमुख तथा एमएमसीका सञ्चालक माधवचन्द्र प्याकुरेल बताउँछन् । ‘पहिले पहिले परीक्षा केन्द्र एउटा दुईटा हुने र परीक्षार्थी संख्या पनि सिमित हुँदा परीक्षाकै दिन कापीजाँच हुन्थ्यो’ त्रिदेवका केन्द्रध्यक्ष प्याकुरेलले भने, ‘यो पटक पाँच ठाउँमा परीक्षा केन्द्र भएकाले उत्तरपुस्तिका संकलन भएपछि सेवा आयोगको बैठक गरी कापीजाँच गरिने हुँदा बढीमा एकसाता लाग्नेछ ।’
कोरोनाको संक्रमण तीब्र गतिमा फैलिइरहेको समयमा एनएमसीलाई कर्मचारी छान्न बाध्यता कि हतारो ? भन्ने प्रश्नमा सञ्चालक समितिका सदस्य प्याकुरेल भन्छन्, ‘मुलतः बाध्यता हो, दोहोरो बाध्यता । पहिलो बाध्यता संस्थाको कार्यक्षेत्र बिस्तार गरिएसँगै सेवा केन्द्र थप गर्दै लैजानुपर्ने भएकाले कर्मचारी अनिवार्य चाहिने भयो । दोस्रो भनेको संस्थाले कर्मचारीको आवश्यकता भनी आवेदन माग्यो, हजारजना भन्दा बढीले उत्साहपूर्वक आवेदन गरेका छन् । उनीहरुलाई परीक्षमा सहभागी हुन आव्हान गर्दा कहीँकतैबाट गुनासो र विरोध नभएपछि भौतिक उपस्थितिमा परीक्षा गरिरहेका छौं । फेरि अहिले क्याम्पसमा विश्वविद्यालय तहको पनि परीक्षा सञ्चालन भइरहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा गर्न हुन्छ भन्ने निश्कर्षका साथ परीक्षा गराइएको हो ।’
https://www.facebook.com/402552123188250/videos/231697635371894
Comments