टोकियो ओलम्पिक आज सकिँदै
Published:
by .काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक आज सकिँदै छ । जापानमा जारी विश्व खेलकुदको कुम्भमेला एक विशेष समारोहबीच समापन गरिनेछ ।
टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ३०० भन्दा बढी खेलाडीको सहभागिता रह्यो । समापन समारोहमा ३३औँ संस्करणको आयोजक राष्ट्र फ्रान्सलाई झन्डा हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।
अन्तिम दिनको प्रतियोगिता चलिरहँदा पदक तालिकामा अमेरिकाले अग्रता बनाएको छ । अमेरिका ३९ स्वर्णसहित ११२ पदक जितेर तालिकाको शीर्ष स्थानमा छ । चीनले अमेरिकालाई पछ्याइरहेको छ । चीनले ३८ स्वर्णसहित कुल ८७ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित ५८ पदक जितेको छ ।
त्यस्तै, ग्रेट ब्रिटेन २१ स्वर्णसहित ६४ पदक जितेर चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित ७० पदक जितेर पाँचौँ स्थानमा छ ।
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिष्पर्धा गरेका थिए । सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो ।
Comments