Sajhamanch Archive

महिला एसियन कप–२०२२ छनोटमा १७ खेलाडी बाहिरिए

Published: in खेलकुद by .

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् ।

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल पनि बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर, परीक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्थ स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ ।

छनोट खेल १३ देखि २५ सेप्टेम्बर सम्म हुँदै छ । २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *