Sajhamanch Archive

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य, हिजै साँझ सपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

हेटौंडा । काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ । डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएर अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त भएकी छन् ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।

नयाँ मन्त्रिपरिषद्मा कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

अष्टलक्ष्मीको अन्तरपार्टी संघर्षः

एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित शाक्य मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा गएकी थिइन् । तर पार्टी नेतृत्व उनलाई मुख्यमन्त्री बनाउन तयार भएन ।

२६ माघ २०७४ मा दल नेता चयनका लागि भएको चुनावमा उनी डोरमणि पौडेलसँग पराजित भइन् । आफूलाई मुख्यमन्त्री हुन नदिने राष्ट्रपति विद्यादेवी भण्डारीसमेत लागेको भन्दै उनले सार्वजनिक मञ्चहरुबाटै भन्ने गरेकी थिइन् ।

एमाले र माओवादी केन्द्रको एकता गरेर नेकपा बन्दा र नेकपाको एकता खारेज गरेर एमाले पुनर्थापित हुँदा पनि उनी नेतृत्वको खरो आलोचक बनिन् । माधवकुमार नेपाल समूहमा खुलेर लागेकी उनले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने नेता नेपालको कदममा भने साथ दिइनन् ।

पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप शाक्यलाई मुख्यमन्त्री बनाएको निर्वतमान मुख्यमन्त्री पौडेलले पनि बताएका छन् । पार्टी एकताका लागि मैले त्याग गरेको भन्दै उनले भने, उहाँ (अष्टलक्ष्मी) पहिला जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ । पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’

शाक्यले भने आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो ’ उनले भनिन् ।

एमाले समाजवादीमा भर पर्छ शाक्यका भविष्य

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ, जुन अहिले सत्तारूढ एमालेसँग छ । त्यसैले प्रदेश प्रमुख विष्णु प्रसाईले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् ।

तर माधव नेपाल नेतृत्वमा बसेके एमाले समाजवादीमा बाग्मतीका कति सांसद लाग्छन् भन्नेमा धेरै निर्भर हुन्छ ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

माओवादी र कांग्रेसका ४५ सांसद छन्, यदि एमाले समाजवादीमा ११ जना सांसद लाग्ने हो भने शाक्यको मुख्यमन्त्री पद धरापमा पर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *